कोपिला मावि पर्सेनीको लेखापरीक्षण तथा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

वीरेन्द्रनगर । सुर्खेत सदरमुकाम वीरेन्द्रनगर–९, पर्सेनी स्थित कोपिला माध्यमिक विद्यालयको लेखापरीक्षण तथा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयले सोमबार विद्यालय परिसरमा अभिभावक भेला मार्फत आर्थिक वर्ष २०८१/०८२ मा कुल एक करोड १७ लाख २० हजार ९ सय १९ रुपैयाँको आय–व्यय गरेको सार्वजनिक गरेको हो । विद्यालयले २०८३ असार मसान्तसम्म डेढ करोड बढी बासलात रहने प्रक्षेपण गरेको छ ।

सामाजिक लेखा परीक्षण समितिका संयोजक एवं शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्र पौडेलको संयोजकत्वमा आयोजित अभिभावक भेलामा आय–व्यय सार्वजनिक गर्नुका साथै सामाजिक लेखापरीक्षण कार्य सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक दुर्गा शाक्यले जानकारी दिईन् ।

उनले २ सय १९ दिन विद्यालय खुला रहेकामा १ सय ९२ दिन कक्षा सञ्चालन गरिएको बताईन् । ‘२०२२ सालमा स्थापना भएको कोपिला मावि पुरनै विद्यालय भएपनि शुरुदेखि उपेक्षामा परेको छ,’ उनले भनिन्, ‘गएको वर्षमा २३ वटा बैठक मार्फत ९९ वटा निर्णय गरिएकोमा ६ वटा निर्णय मात्र कार्यान्वयन गर्न सकिएन् ।’

उनले टीमवर्कका कारण १६ जना शिक्षक र २ जना विद्यालय कर्मचारी मार्फत पछिल्लो समय शैक्षिक गुणस्तर बृद्धिमा आशालाग्दो सुधार भएको जनाईन् । तर, शिक्षक सरुवा प्रकरणले चालु शैक्षिक सत्रदेखि नै ११ र १२ कक्षा सञ्चालनका लागि अभिभावकको माग आएपनि कक्षा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।

यद्यपि ! विद्यालय शिक्षक परिवारसँगै विद्यालय व्यवस्थापन समितिले उपल्लो कक्षा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाईसकेकाले ढिलैभएपनि त्यसतर्फ अघि बढ्न आवश्यक रहेको उनले औल्याईन् । कार्यक्रममा शिव मावि लाटिकोइलीका शिक्षक अमृता सापकोटाले वीरेन्द्रनगरमा शिक्षक सरुवा प्रकरणले केही विद्यालय व्यवस्थापनमा असहजता ल्याएको जनाईन् ।

उनले कोपिला माविको नेतृत्व दुर्गा शाक्यले पाएपछि सबै क्षेत्रमा उत्साहजनक सुधार भईरहेका बेला वीचमै सरुवा प्रकरणले विद्यालयमा असहजता देखिएको बताईन् । राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्ने दण्ड सजायको प्रचलनलाई कडाई नगरिँदा विद्यालयको शैक्षिक गुणस्तर बृद्धिसँगै भौतिक पूर्वाधार सुधार गर्न कठिन देखिएको उनको भनाइ थियो ।

उनले पछिल्लो सयम कोपिला मावि शैक्षिक गुणस्तरमा सकारात्मक सुधार हुनुमा अभिभावकको समेत भूमिका रहेकाले विद्यालयलाई थप सहयोग गर्न आग्रह गरिन् । विद्यालयका शिक्षक श्याम वलीले शिक्षक अभिभावक तथा चन्दादातासबैको सहयोग र सद्भावले विद्यालय शैक्षिकसँगै अन्य प्रगतितर्फ अग्रसर रहेको बताए ।

उनले विद्यालयलाई माथि उकास्न थुप्रै क्षेत्रको सहयोग आवश्यक रहने भएकाले विशेषरुपले अभिभावकको रचनात्मक सुझाव तथा सल्लाहको अपेक्षा व्यक्त गरे ।

Translate »