सवा नौ लाख मतदाता थपिए

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल १ करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यसपटक जेन–जी आन्दोलनपछि  ९ लाख १५ हजार ११९ मतदाता थपिएका छन् ।

प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार ३५८ जना पुरुष, ९२ लाख ४० हजार १३१ जना महिला र अन्य २०० जना गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उक्त नामावली आयोगको वेबसाइटमा प्रकाशन गरिएको छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी आगामी फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता भट्टराईले बताए ।

यस्तै, आगामी निर्वाचनका लागि देशभरि १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

कुन प्रदेशमा कति मतदाता ?

आयोगका अनुसार कोशीमा ३५ लाख ७४ हजार ३१० मतदाता छन् । पुरुष १८ लाख २८ हजार २१३, महिला १७ लाख ४६ हजार ७३ र अन्य २४ छन् । मधेशमा ३६ लाख ३६ हजार ४१४ मतदाता छन् । पुरुष १९ लाख ७२ हजार ९६४, महिला १६ लाख ६३ हजार ३७४ र अन्य ७६ छन् ।

बागमतीमा ३६ लाख ८२ हजार ३१० मतदाता छन् । पुरुष १८ लाख ५२ हजार ३७८, महिला १८ लाख २९ हजार ९०५ र अन्य २७ छन् । गण्डकीमा १८ लाख ७० हजार ६५ मतदाता छन् । पुरुष ९ लाख १४ हजार ५३५, महिला ९ लाख ५५ हजार ५१६ र अन्य १४ छन् । यो प्रदेशमा पुरुषभन्दा महिला मतदाता बढी छन् ।

लुम्बिनीमा ३३ लाख ८६ हजार ६८० मतदाता छन् । पुरुष १७ लाख १५ हजार १६३, महिला १६ लाख ७१ हजार ४७९ र अन्य ३८ छन् । कर्णालीमा १० लाख ३७ हजार २५० मतदाता छन् । पुरुष ५ लाख २७ हजार ८८६, महिला ५ लाख ९ हजार ३६१ र अन्य ३ छन् ।

सुदूरपश्चिममा १७ लाख १६ हजार ६६० मतदाता छन् । पुरुष ८ लाख ५२ हजार २१९, महिला ८ लाख ६४ हजार ४२३ र अन्य १८ छन् । यहाँ पनि पुरुषभन्दा महिला मतदाता बढी छन् । रासस

Translate »