उनेपा–रास्वपा एकता भंग

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको एकता भंग भएको छ । एकता भंग भएसँगै शनिवार बसेको उनेपा बैठकले पार्टी अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकपछि पत्रकार सम्मेलन गरी नवनियुक्त अध्यक्ष घिसिङले रास्वपासँग भएको एकता भंग भएको घोषणा गर्दै अब आफ्नै पार्टीको चुनाव चिह्न लिएर प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने बताए ।

‘हाम्रो पार्टीलाई पदका लागि मोलमालाई गर्यौं भन्ने आरोप लागेको छ, यो गलत छ । यसअघि म वरीयता क्रममा तल रहेर उपाध्यक्ष पदमा बसेको थिएँ । समावेशिता, संघीयतालगायतको विषयमा पूरक सम्झौता नभएपछि एकता तोडिएको हो,’ घिसिङले भने । उनले शनिवार नै उज्यालो नेपाल पार्टीको सदस्यता लिएको बताए ।

रास्वपाले भने पार्टीको नाम फेर्नेसम्मको प्रस्ताव आएपछि उनेपासँग एकता भंग भएको बताएको छ । कुलमान घिसिङले एकपछि अर्को प्रस्ताव ल्याएका कारण एकताले पूर्णता पाउन नसकेको निष्कर्ष रास्वपाको बैठकले निकालेको नेता शिशिर खनालले बताए ।

घिसिङले पार्टीको नयाँ नाम राख्नुपर्ने, आफूलाई वरिष्ठ उपसभापति बनाउनुपर्ने, निर्वाचन क्षेत्रको सिट बाँडफाँट गर्नुपर्ने, पार्टीका अन्य पदाधिकारीमा पनि आफ्नो पार्टीका नेतालाई नियुक्त गर्नुपर्नेलगायत प्रस्ताव ल्याएको रास्वपाको भनाइ छ ।

पार्टी एकताका क्रममा भएको सहमतिभन्दा फरक र छुट्टाछुट्टै पूरक प्रस्ताव आउन थालेपछि एकता अगाडि बढ्न नसकेको रास्वपाको दाबी छ । एकतासँगै वरिष्ठ उपसभापति, महामन्त्री, पदाधिकारी, थप सचिवालय सदस्य, केन्द्रीय सदस्य र निर्वाचन क्षेत्रसम्म बाँडफाँटको प्रस्ताव आएपछि एकतालाई पूर्णता दिन समस्या भएको नेता खनालले बताए । रासस

Translate »