१५ शैयाको प्रहरी अस्पताल सञ्चालन

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालले सुर्खेतको वीरेन्द्रनगरमा १५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको छ ।

आज कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अस्पताल भवनको उद्घाटन गर्दै जनस्तरसँग गाँसिएको संस्था भएकाले अस्पतालयहाँबाट दिने सेवाले अर्थ राख्ने बताएका छन् । उनले सुर्खेतमा जनघनत्व बढिरहेकाले त्यसको तुलनामा स्वास्थ्य क्षेत्रको विविधायुक्त सेवा प्रदान गर्न आवश्यक रहेको औल्याए ।

नेपाल प्रहरीका अन्य संरचना नहुँदा पनि स्वास्थ्यजस्तो जटिल विषय ध्यानमा राखेर सेवा दिएको देख्दा खुसी लागेको उनको भनाइ थियो । कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले संकटको सारथिकारुपमा रहेको नेपाल प्रहरी उद्दार, राहत मात्र नभएर नागरिकको स्वास्थ्य उपचारमा पनि सक्रिय भएको देख्न पाउँदा खुसी लागेको बताए ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) माधव श्रेष्ठले प्रदेश प्रहरी कार्यालयभित्र रहेको १५ शैयाँको अस्पतालमा प्रहरीमात्र नभई नागरिकले पनि सहजै उपचार सेवा पाउने जनाए । अस्पतालमा अन्तरंग विभाग, ल्याब, फार्मेसी, माइनर अप्रेसन, ओपीडी सञ्चालन हुने भएका छन् ।

कर्णालीका १० जिल्लाका बहालवाला प्रहरी, तिनका आश्रित परिवार र भूपू प्रहरी, अमर प्रहरीलगायत सर्वसाधारणलाई उपचार सेवा दिनु अस्पतालको उद्देश्य रहेको प्रदेश प्रहरी कार्यालयको भनाइ छ ।

Translate »