कांग्रेस विशेष महाधिवेशनद्वारा पारित दस्तावेज र नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण आयोगमा


काठमाडौं । नेपाली कांग्रेसको दोस्रो महाधिवेशनबाट नवनिर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्य समितिले विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा विवरण पेश गरेको छ ।
सभापति थापाको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरू बिहीवार आयोगको केन्द्रीय कार्यालय बहादुर भवन पुगी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम केन्द्रीय कार्य समितिका पदाधिकारी हेरफेर भएको विवरण पेश गरेका हुन् ।
विवरण पेश गर्दै सभापति थापाले विशेष महाधिवेशनले गरेका निर्णय, पारित गरेका दस्तावेज र नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण पेश गरिएको सञ्चारकर्मीलाई जानकारी दिए । विशेष महाधिवेशनले सभापतिसहित सिंगो केन्द्रीय कार्यसमिति नै परिवर्तन गरिएको विवरण पेश गरिएको उनले बताए ।

थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी फुटेको नभई विधानअनुसार विधिवत् भएको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको जानकारी दिए । त्यही विवरण अद्यावधिक गर्न पार्टी केन्द्रीय कार्य समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरु आयोग आएको उनले बताए ।
थापा नेतृत्वको नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गुरुराज घिमिरेले आयोग आउनुअघि बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनमा टिकट वितरण गर्ने प्रयोजनका लागि संसदीय समिति एवं बोर्ड गठन गर्ने निर्णय भएको जानकारी दिए । निर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा गर्न सभापति थापाको नेतृत्वमा अर्को समिति गठन भएको उनले बताए ।
नवनिर्वाचित केन्द्रीय समितिले वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता एवं एशोसिएशनका अर्का पूर्वअध्यक्ष प्रेमबहादुर खड्कासहितका कानून व्यवसायी लिएर आयोगमा आएको थियो ।
सभापति थापाले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई दोस्रो विशेष महाधिवेशनबाट पारित भएका नीति तथा कार्यक्रमलगायत दस्तावेज र नवनिर्वाचित केन्द्रीय कार्य समितिको विवरणलगायत कागजात पेश गरेका थिए ।

