जनताको विश्वास र समर्थनले मात्र समृद्ध सुर्खेत सम्भव छ : एमाले सुर्खेत अध्यक्ष देवकोटा

पश्चिम सुर्खेतमा एमालेको चुनावी गतिविधि तीव्र

सुर्खेत । प्रतिनिधि सभाको चुनावको मिति नजिकिँदै जाँदा सुर्खेतमा एमालेले राजनीतिक गतिविधिलाई तीव्र पारेको छ ।

आन्तरिक कार्यकर्तालाई प्रशिक्षण, भेला, पार्टी भित्रकै असन्तुष्ट पक्षलाई मनाउनेदेखि मतदाताको घरदैलोमा पुगेर एमालेका नेताहरु भोट माग्दै आइरहेका छन् । २०८२ को चुनावलाई एमालेले पार्टी वा व्यक्तिको हार जितको रुपमा मात्र लिने भन्दा पनि देश निर्माण गर्ने र मुलुकमा विध्वंस मच्चाउनेहरु वीचको अग्निपरीक्षाका रुपमा लिएको छ ।

यस पटकको चुनावले अब हुने प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई समेत प्रभावित पार्ने भएकाले एमालेले अग्निपरीक्षाका रूपमा लिएकाले चुनावी भिडन्त रोचक बन्ने देखिएको हो । यतिबेला एमाले सुर्खेतका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुर्खेत क्षेत्र नं. २, का उम्मेदवार कुलमणि देवकोटा मैराथन चुनावी प्रचार अभियान लिएर पश्चिम सुर्खेतका गाउँवस्तीमा पार्टीका कार्यकर्ता तथा नेताहरुसँगै आम मतदातासँग निर्वाचन लक्षित भेटघाटलाई तीव्रता दिएका छन् ।

उनले आज पश्चिम सुर्खेतको चौकुने गाउँपालिका विभिन्न क्षेत्रका नेता, कार्यकर्ता तथा मतदातासँग छलफल, अन्तरक्रिया तथा भेटघाट गरे । देवकोटाले मतदातासँगको भेटमा जनताको विश्वास र समर्थनले मात्र समृद्ध सुर्खेत निर्माण सम्भव हुने बताए । ‘अहिले मुलुक बनाउने र विनाश गर्ने बीचको चुनाव हो,’ उनले भने, ‘मतदाताले विध्वंस होइन निर्माण गर्ने पार्टी र शक्तिलाई चिनेर मात्र समर्थन गर्नुपर्ने छ ।’

एमाले सुर्खेतले दुबै निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई पार्टी पंक्तिमा केन्द्रीत गर्दै आईरहेको जानकारी दिँदै उनले संसदमा जाने अवसर पाए जिल्लाको समग्र विकाससँगै राम्रो नीति निर्माणका लागि आफुले काम गर्ने प्रतिबद्धता जनाए । यता एमालेका कार्यकर्ताले भने चौकुनेमा एमालेको संगठन सुदृढ गर्दै आसन्न निर्वाचनमा पार्टीलाई विजयी बनाउने बलियो आधार तयार गर्नेगरी चुनावी अभियानलाई तीव्रता दिन सुझाएका थिए ।

कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज नवराज रावत, प्रदेश कमिटी सदस्य हरि खनाल, प्रदेश कमिटी सल्लाहकार सदस्यहरु धीरबहादुर शाही र ताराकेशर गौतम, जिल्ला उपाध्यक्ष मोहन बडुवाललगायतको नेता तथा कार्यकर्ताहरु सहभागि थिए ।

Translate »