बालेनको प्रचारमा गएका व्यक्ति बेहोस भएपछि उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो

अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र साहको चुनावी प्रचारमा अछाम गएका व्यक्ति बेहोस भएका छन् ।

उनी काठमाडौंदेखि नै बालेनसँगै चुनावी अभियानमा पुगेका नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला आज बिहान एक्कासि बेहोस भएपछि अस्पताल भर्ना गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार गाडीबाट उत्रिने बित्तिकै सिटौला बेहोस भएर ढलेका थिए । सिटौलालाई सुरुमा जिल्ला अस्पताल अछाममा उपचारका लागि लगिएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए । त्यसका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर उद्दारका लागि अछाम मगाइएको थियो ।

अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सिटौलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जानकारी दिए । ‘सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाएका छौं,’ बुढाले भने ।

सिटौला चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष हुन् । बालेनको अछाममा चुनावी अभियान सकेर आजै कर्णाली प्रदेशको दैलेख जिल्लाका विभिन्न स्थानमा सहभागी हुने कार्यतालिका रहेको छ ।

Translate »