सुर्खेत डढेलोको उच्च जोखिममा, नियन्त्रण, पूर्वतयारी तथा प्रतिकार्यका लागि छलफल शुरु


सुर्खेत । सुर्खेत जिल्ला वन डढेलो उच्च जोखिममा रहेको पाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अघिल्लो वर्षको विवरणका आधारमा सुर्खेत जिल्लालाई वन डढेलोको उच्च जोखिममा रहेको जानकारी दिएको हो । प्राधिकरणले सुर्खेतसँगै देशभरका नौ जिल्लालाई डढेलोको उच्च जोखिमयुक्त जिल्लामा राखेको छ । जसमध्ये सुर्खेत ९ औं स्थानमा रहेको छ ।
सुर्खेत जिल्ला वन डढेलोको उच्च जोखिममा परेपछि डिभिजन वन कार्यालयले रोकथाम, पूर्व तयारी, प्रतिकार्य तथा पुनः स्थापनाका कार्यलाई व्यवस्थित तथा प्रभावकारी बनाउन शुरु गरेको हो । बन डढेलोको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि डिभिजन बन कार्यालयले जिल्ला स्तरीय बन डढेलो व्यवस्थापन कार्ययोजना तयार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
शनिबार वीरेन्द्रनगरमा वन क्षेत्रसँग सम्बन्धित स्थानीय उपभोक्ता समूह, सामुदायिक वन समूह तथा सरोकारवाला निकायलाई परिचालन गर्नका लागि वन कार्यालयले छलफल शुरु गरेको हो । लामो समयदेखि वर्षा नहुनु, बढ्दो तापक्रम र सुक्खा मौसमका कारण जिल्लाका सामुदायिक तथा सरकारी वन क्षेत्रमा आगलागीको सम्भावना बढ्दै गएको छ ।
विशेषगरी जलधार क्षेत्र, वनजंगल नजिकका बस्ती तथा मानव गतिविधि बढी हुने क्षेत्रहरु उच्च जोखिममा रहेको डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत राधाकृष्ण दासले बताए । उनले बन डढेलो न्यूनीकरणका लागि स्थानीय तह, सामुदायिक बन उपभोक्ता समूह तथा सुरक्षाकर्मीहरुसँग समन्वय बढाइएको जनाए ।


उनका अनुसार बन कार्यालयले जङ्गल क्षेत्रमा आगो नलगाउन, छिटो आगो टिप्ने वस्तु लापरबाहीपूर्वक नफ्याँक्न र डढेलो देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ । कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा प्रतिनिधिहरुले वन डढेलो न्यूनिकरणका लागि सचेतनासँगै जानी–जानी वनमा आगो लगाउने स्वार्थ समूहलाई कानून अनुसार हदैसम्मको कार्वाही कार्यान्वयनमा ल्याउन जोड दिएका थिए ।
उनीहरुले डढेलो रोकथाम तथा प्रतिकार्यका लागि वन कार्यालयबाट प्राविधिक सहयोगसँगै समन्वयको पाटोलाई जीवन्त बनाउन सुझाव दिएका छन् । वीरेन्द्रनगर नगरपालिका–१ नम्वरका वडाध्यक्ष दिनेश खत्रीले वन डढेलो रोकथाम तथा नियन्त्रणमा पूर्व तयारी तथा सचेतना बढाउन सबै पक्ष अहिलेदेखि नै जुट्न आवश्यक रहेको औल्याए ।
विगतका वर्षहरुमा बारम्बार देखिएका वन डढेलोका घटनाका कारण सुर्खेत उच्च जोखिमको सूचीमा परेको बताउँदै उनले वन क्षेत्रसँग खेलवाड र छेडछाड गर्ने जोकोहीलाई हदैसम्मको कानूनी कार्वाही गर्न आग्रह गरे । वन, जंगल नरहे मनुष्यको अस्तित्व नै संकटमा पर्ने भएकाले वढ्दो वायु प्रदुषण रोकथामका उपायहरु अवलम्वन गर्न अब ढिलाई गर्न नहुने उनको भनाइ थियो ।


