बर्दियाको बाँसगढीमा स्वास्थ्य जाँचका लागि घर–घरमा स्वास्थ्यकर्मी

बर्दिया । नसर्ने रोग नियन्त्रणका लागि बर्दियाको बाँसगढी नगरपालिकाले घर–घरमा स्वास्थ्यकर्मी पठाएको छ ।

तीस वर्ष भन्दा माथिका नागरिकहरूको स्वास्थ्य चेकजाँचको लागि घर–घरमा स्वास्थ्यकर्मी पठाएको हो । स्वास्थ्यकर्मीको टोलीले घर–घरमा पुगेर रक्तचाप, मधुमेह, मृगौला रोग, मोटोपन लगायतका समस्याहरु पत्ता लगाउने गरेका छन् । टोलीले बिरामीको रगत र पिसाब चेकजाँच गरि समस्या पत्ता लगाउने गरेको हो ।

सामान्य समस्या भएमा घरमै औषधी उपचार गर्ने र जटिल समस्या भएमा वा चिकित्सकको नै सल्लाह लिनुपर्ने देखिएमा नगर अस्पताल वा अरु अस्पतालमा रिफर गर्ने गरिएको छ ।  टोलको पायक पर्ने स्थानमा शिविर सञ्चालन गर्ने र आउन नसक्ने बिरामीको लागि घरमै गएर चेक जाँच गर्ने गरिएको हो ।

गत माघ १६ देखि सुरु गरिएको स्वास्थ्य परीक्षण एक महिनासम्म सञ्चालन हुनेछ । सम्पूर्ण वडामा सुरु गरिएको घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रममा हाल सम्म २ हजार १ सय जनाको परीक्षण गरिसकिएको छ । जसमध्ये १ हजार १ सय २८ जनालाई विभिन्न समस्या देखिएको बाँसगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुलबहादुर विष्टले बताए । उनले परीक्षण गरिएकामध्ये करिब ५३ प्रतिशतमा समस्या देखिएको बताए ।

हालसम्म परीक्षण गरिएका मध्ये उच्च रक्तचाप भएका ४ सय ४ जना, मधुमेह भएका ३ सय ६० जना, पिसाब जाँच गर्दा मृगौलामा समस्या देखिएका १ सय ९४ जना र मोटोपनको समस्या देखिएका १ सय ७० जना फेला परेको उनले जानकारी दिए ।  उनका अनुसार तत्काल उपचार थप चेक जाँचको लागि बाँसगढी नगरपालिकामा ८ सय ४६ जनालाई रिफर गरिएको छ ।

नगरपालिको आन्तरिक स्रोतलाई परिचालन गरेर निःशुल्क स्वास्थ्य परिक्षण सेवा सुरु गरिएको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडकबहादुर खड्काले बताए । उनले पछिल्लो समय नसर्ने रोगको प्रकोप बढ्दै गएको हुनाले यसबाट बच्नका लागि समयमै रोग बारे पत्ता लगाई उपचार सुरु गर्नका लागि शिविर सञ्चालन गरिएको जानकारी दिए ।

Translate »