नाग्म–गमगढी सडक कालोपत्रे सुरु गर्न बजेट

मुगु । जुम्ला र मुगु जिल्ला जोड्ने नाग्म(गमगढी सडकको १५ किलोमिटर सडक कालोपत्रे (पिच) गर्ने कार्य अघि बढ्ने भएको छ ।

सो सडकको प्रारम्भिक विन्दुबाट १५ किलोमिटर सडकखण्ड कालोपत्रेका लागि बजेट सुनिश्चित भएपछि निर्माण कार्य अघि बढ्ने भएको हो ।सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महतराले कालोपत्रेका लागि बजेट सुनिश्चित भएको जानकारी दिए ।

उनका अनुसार हाल ९१ करोड बजेट सुनिश्चित भइसकेको छ ।  ‘९१ करोड सुनिश्चित भइसकेको छ । आवश्यक परे थप बजेट माग गर्छौं,’ उनले भने । नाग्म–गमगढी सडकखण्डमा २०६७÷६८ देखि नै गाडी गुड्न थालेको हो ।

तर, हालसम्म सो सडक कालोपत्रे हुन सकेको थिएन । देशकै प्रमुख पर्यटकीय गन्तव्य रारासँग जोडिएको यो सडक हरेक निर्वाचनमा चुनावी मुद्दा बन्दै आएपनि हालसम्म कालोपत्रे भने गर्न सबैजसो नेता असफल हुँदै आएका थिए ।

ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा परेको मुगुस्थित रारा ताल जाने नाग्म–गमगढी सडक कालोपत्रे नहुँदा पर्यटकलाई सास्ती हुँदै आएको छ । यो सडक स्तरोन्नति नहुँदा सवारी दुर्घटना भइरहन्छन् । वर्षैंदेखि स्थानीय र पर्यटकले समेत सास्ती पाउँदा पनि बजेटमा यसले प्राथमिकता नपाउँदा स्थानीय असन्तुष्ट बनेको थिए ।

कर्णाली राजमार्ग हुँदै नाग्म–गमगढी सडक भएर रारा ताल पुग्न सकिन्छ । यसका उपरान्त यो सडकबाटै जुम्लाका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिका हुँदै रारा पुग्छ । सडक खुलेको लामो समय भइसक्दा पनि कालोपत्रे नहुँदा हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने गर्दछ ।

Translate »