‘अनुसन्धान तथा अन्वेषण कार्य विद्यालयस्तरबाटै शुरु गरिनु पर्नेमा जोड’


सुर्खेत । सुर्खेतका प्रधानाध्यापकहरुले विद्यार्थीलाई विद्यालय स्तरबाटै अनुसन्धान तथा अन्वेषण कार्यमा जोड्न आवश्यक रहेको औल्याएका छन् ।
नेपाल प्रधानाध्यापक संघ सुर्खेतले विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको नवनियुक्त प्रधानाध्यापकहरुको सम्मान समारोह तथा अभिमुखीकरण कार्यक्रममा अनुसन्धान तथा अन्वेषण कार्यलाई विद्यालयस्तरबाट शुरु गर्न नसकिए परिणाममुखी र व्यवहारिक शिक्षा नारामै सीमित हुने बताएका हुन् ।
उनीहरुले समयको माग अनुरुपको शिक्षण पद्धतीलाई अनुसरण गर्न नसक्दा अझै पनि शिक्षालाई कक्षा कोठाका चार पर्खालभित्रको शिक्षक केन्द्रित कर्मकाण्डी प्रक्रियाभन्दा फरक बनाउन नसकिएको बताएका छन् । स्नातक तह उत्तीर्ण गरिसक्दा पनि आफ्नो जीवनको असल व्यवस्थापन गर्न सक्ने क्षमता र सुझबुझ नहुँदा शिक्षित भनिने मान्छेमा पनि शिक्षाप्रति वितृष्णा र नकारात्मक सोच पलाइरहेकोप्रति सुर्खेतका प्रधानाध्यापकहरुले चिन्ता जाहिर गरे ।

जन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले जबसम्म अनुसन्धानमूलक कार्यक्रमद्वारा यसको पहिचान गर्न र परिणाममुखीरुपमा सदुपयोग गर्न सक्दैनौं, तबसम्म स्वावलम्बन ‘शब्द’ शब्दमै सीमित रहने बताए । उनले विद्यालय तथा कलेजको परिणाम शतप्रतिशत बनाइदिन तथा आमाबाका अतृप्त आकांक्षा तृप्त गरिदिन विद्यार्थीले पढिदिनुपर्ने हालको अवस्थामा परिवर्तन आवश्यक रहेको औल्याए ।
‘हरेक विद्यार्थीलाई एक अद्वितीय क्षमता र सम्भावनाको व्यक्तिका रुपमा लिएर सहजीकरण गरिदिनु सबैको कर्तव्य हो,’ उनले भने, ‘शिक्षालाई सार्थक रुपमा जीवन र जगतसँग जोड्न युगान्तकारी पहल आवश्यक छ ।’ ‘सहस्राब्दी विकास लक्ष्य’ का शिक्षासम्बन्धी लक्ष्य हुन् वा ‘सबैका लागि शिक्षा’ का लक्ष्य वा हालको ‘दिगो विकास लक्ष्य’ का शिक्षासम्बन्धी लक्ष्य यी सबैको उद्देश्य शिक्षालाई परिणाममुखी बनाउने नै रहेको पाइएको उनको भनाइ थियो ।

नेपाल प्रधानाध्यापक संघ सुर्खेतका अध्यक्ष दुर्गा शाक्यको अध्यक्षतामा शुरु भएको कार्यक्रममा कर्णाली प्रदेश अध्यक्ष नवराज घिमिरेले जबसम्म शिक्षकले मनैदेखि काम गर्ने वातावरण पाउँदैन, तबसम्म हाम्रा शिक्षासम्बन्धी जस्तासुकै योजना पनि सफल हुन नसक्ने धारणा व्यक्त गरे । उनले शिक्षकको पेसागत दक्षता अभिवृद्धिसम्बन्धी थुप्रै योजना तथा कार्यक्रम सञ्चालन भएपनि त्यसको प्रतिविम्ब कक्षाकोठासम्म राम्ररी पुग्न नसकेको जनाए ।

शिक्षणलाई साँचो अर्थमा सफल बनाएर व्यक्ति, परिवार र समाज रुपान्तरणसँगै राष्ट्रनिर्माणको अभियान सफल बनाउनतिर सरोकारवालाको ध्यान पुग्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा पानका प्रदेश सल्लाहकार खगेन्द्र थापा, पान सुर्खेतका पूर्व अध्यक्ष नेत्रप्रसाद चालिसे, जुम्लाका अध्यक्ष जगतबहादुर शाहीलगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमबाट पान कर्णाली प्रदेश र सुर्खेत जिल्ला कार्यसमितिमा रिक्त रहेका पदहरुमा कर्णबहादुर रावत, तेजबहादुर शाही, डम्बरबहादुर सोडारी, हितकुमारी खड्का, वेदप्रसाद भट्टराई र नविनकुमार कँडेललाई विभिन्न पदमा चयन गरिएको हो ।
पान सुर्खेतले नवनियुक्त नौ जना प्रधानाध्यापकहरुलाई सम्मान तथा अभिनन्दन गरेको जिल्ला अध्यक्ष दुर्गा शाक्यले जानकारी दिईन् । उनका अनुसार उक्त अवसरमा नवनियुक्त प्रधानाध्यापकहरुलाई विद्यालय व्यवस्थापन सम्बन्धि अडियो तथा भिडियो माध्यमबाट अभिमुखिकरण गर्ने कार्य समेत गरिएको छ ।




