त्रिशूली नदीमा यात्रुवाहक बस दुर्घटना, मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते

धादिङ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ ।

ग २ ख १४२१ नम्बरको रात्रीबस आज बिहान करिव १ः३० बजे पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौंदी नजिक त्रिशूली नदी किनारमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको हो ।

दुर्घटनामा २५ जना घाइते भएका छन । घाइतेहरुको उद्दार गरि थप उपचारका लागि काठमाडौ पठाइएको छ । मृतकहरुमा ४ जना महिला रहेका छन् । सडकबाट करिब ८० मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत कम्तीमा ४५ जना यात्रुहरु रहेको अनुमान छ ।

हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १८ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २४ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए ।

मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्दारको काम भइरहेको छ ।

 

Translate »