निर्वाचनका लागि जमुनाह नाकामा स्वदेश फर्किने मतदाताको चाप बढ्दो


बाँके । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपालीहरू मताधिकार प्रयोग गर्न स्वदेश फर्कने क्रम बढ्दै गएको छ । बाँकेको सीमावर्ती जमुनाह नाकामा दैनिक रूपमा घर फर्किने नेपालीहरूको आवागमनमा वृद्धि देखिएको हो ।
जमुनाह प्रहरी प्रमुख प्रहरी निरीक्षक किरण मल्लका अनुसार निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा पारिएको छ । उनले सीमा नाकामा चेकजाँचलाई तीव्र बनाइएको जानकारी दिँदै स्वदेश फर्किने नागरिकहरूको सहज आवागमनका लागि आवश्यक समन्वय गरिएको बताए ।

भारतका मुम्बई, गोवा, पुणे, पञ्जाब, हरियाणा लगायतका स्थानमा मजदुरी गर्दै आएका नेपालीहरू काम छोडेरै भए पनि मतदानमा सहभागी हुन गाउँ फर्किरहेका छन् । उनीहरूमा आफ्नो मतमार्फत देशको भविष्य निर्धारण गर्ने उत्साह देखिन्छ ।
मत हाल्न फर्किएका दैलेखका रामबहादुर वलीले देशलाई सक्षम, इमानदार र जनताको पक्षमा काम गर्ने नेतृत्व आवश्यक रहेको बताए । ‘देशमै रोजगारी सिर्जना गर्ने र युवालाई विदेशिनु नपर्ने वातावरण बनाउने नेतृत्व चाहिन्छ,’ उनले भने । आफ्नो मतको सही सदुपयोग हुनेमा आफू आशावादी रहेको वलीको भनाइ छ।
निर्वाचन नजिकिँदै जाँदा स्वदेश फर्किने मतदाताको सङ्ख्या बढ्नुले लोकतन्त्रप्रतिको विश्वास, नागरिक चेतना र जिम्मेवारीबोध अझ सुदृढ बन्दै गएको सङ्केत गरेको छ । सीमा क्षेत्रमा सुरक्षा सतर्कता र नागरिकको सक्रिय सहभागिताले निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

