फागुन २० रातिदेखि मतदान नसकिएसम्म सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक


सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाईएको जनाएको छ । प्रशासन कार्यालयका अनुसार निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने) भने सञ्चालन हुनेछन् । कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधन पनि चल्नेछन् ।
अन्य सार्वजनिक तथा निजी सवारीसाधन भने फागुन २० गते राति १२ः०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय गरेको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले जानकारी दिए । उनले निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादकपदार्थ बिक्रीवितरण तथा सेवन गर्न समेत निषेध गरिएको बताए ।

मतदानको दिन हवाई उडान भने नरोकिने
फागुन २१ गते सबै सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइए पनि हवाई उडान भने नियमित रुपमा सञ्चालन हुने भएका छन् । निर्वाचन आयोगले गृह मन्त्रालयलाई पत्र लेख्दै हवाई उडान नियमित सञ्चालन गर्ने वातावरण बनाउन भनेको हो ।
योसँगै फागुन २१ गते (मतदानको दिन) आन्तरिक तथा बाह्य दुवै हवाई उडान यथावत रुपमा सञ्चालन हुने भएका छन् । तर, सो दिन हवाई उडान प्रयोग गर्ने यात्रुहरुले विमानस्थलदेखि घर जाँदा वा घरबाट विमानस्थल जाँदा निजी तथा सम्बन्धित एयरलाइन्सले व्यवस्था गरिदिएको सवारिसाधन प्रयोग गर्नुपर्नेछ ।
यात्रा गर्दा सम्बन्धित एयरलाइन्सको टिकट अनिवार्य रुपमा साथमा बोक्नुपर्नेछ । विगतमा निर्वाचनको दिन आन्तरिक उडान बन्द गरिँदै आएको थियो ।


