ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश पोखरेल र रेग्मीको इजलासमा


काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको मुद्दा न्यायाधीश मेघराज पोखरेल र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ । गोलाद्वारा तोकिएको पेसी दुवै इजलासमा पहिलो नम्बरमै तोकिएको छ ।
ओलीका हकमा श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी थिइन् भने लेखकको हकमा श्रीमती यशोदा खकले निवेदन दर्ता गराएकी थिइन् । शनिबार दुवै नेताहरुलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ परेको थियो ।

२३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग गरे अभियोगमा कर्तव्य ज्यानमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको थियो । आइतबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पाँच दिन अनुसन्धानका लागि थुनामा राख्ने अनुमति पनि दिएको छ ।
बन्दी प्रत्यक्षीकरणको निवेदनमा उनीहरुलाई अदालतबाट पक्राउ अनुमतिसमेत नलिइएको र पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी कार्यालयमै नपुगेको अवस्थामा प्रतिशोधपूर्ण रुपमा पक्राउ गरिएको दाबी गरिएको छ । सर्वोच्चले आज पहिलो सुनुवाइ गर्न लागेको हो ।
(ईकान्तिपुरबाट )

