काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् ।

मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो । कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धान अघि बढाउने क्रममा रिजाललाई पक्राउ गरिएको हो ।

उक्त आन्दोलन भदौ २३ र २४ गते हुँदा उनी काठमाडौंका सिडिओका रुपमा कार्यरत थिए । जाँचबुझ आयोगको सिफारिसका आधारमा मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अन्तर्गत ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ कसुरमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

यस कसुरमा दोषी ठहर भए अधिकतम तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । पक्राउ परेका पूर्वप्रजिअ रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाउने तयारी भइरहेको एसएसपी खड्काले जानकारी दिए ।

अब जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढ्नेछ । यसअघि सोही प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक समेत पक्राउ परिसकेका छन् ।

Translate »