वीरेन्द्रनगरका युवाहरुलाई निःशुल्क डिजिटल मार्केटिङ तालिम

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रका शिक्षित युवालाई ‘डिजिटल मार्केटिङ’ सीप प्रदान गरी स्वदेशमै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर सृजना गर्न सक्ने वातावरण तयार गर्ने नीति लिएको छ ।

सोही नीतिलाई कार्यान्वयन गर्न नगरपालिकाले सोमबारदेखि युवाहरुलाई प्रविधिसँग जोड्दै स्वरोजगार बनाउने उद्देश्यका साथ ‘डिजिजल मार्केटिङ्ग प्रशिक्षण’ दिन शुरु गरेको हो ।

प्रशिक्षणका सहभागिले आफूअनुकूल दैनिक तीन घण्टा सूचना प्रविधिका विभिन्न ११ आयाम (मोडल) का बारेमा ज्ञान हासिल गर्नेछन् । २० दिनसम्म सञ्चालन हुने निःशुल्क तालिममा नगरक्षेत्रका ३५ जना युवायुवतीहरुको सहभागिता रहेको छ ।

सीपलाई रोजगारीसँग जोडेर सो तालिमपश्चात् सहभागीले स्वदेशमै बसेर सूचना प्रविधि सम्बन्धी काम गर्न सक्ने जनाइएको छ । पछिल्लो समय नगरपालिकाले युवालाई विभिन्न क्षेत्रमा स्वदेशमैै रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्न आवश्यक सीपमूलक तालिम, प्रशिक्षण तथा अन्य कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आएको छ ।

तालिमको शुभारम्भ गदै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नगरपालिकाको सेवालाई क्रमशः प्रविधिमैत्री बनाउँदै लैजाने नीति रहेको बताईन् ।

‘स्वदेशमै रोजगारीको अवसर सृजना गर्न नगरपालिकाले युवा केन्द्रित कार्यक्रम, प्रशिक्षण तथा तालिम सञ्चालन गरिहेको छ,’ उनले भनिन्, ‘रोजगारमूलक तालिमपछिको आबद्धता बढाउन पहिलोपटक डिजिजल मार्केटिङ्ग तालिमको सुरुआत गरेको र यसले सीप र रोजगारीलाई एकापसमा जोड्ने विश्वास छ ।’

उनले डिजिटल युगमा युवाहरूलाई सक्षम बनाउने र उनीहरूलाई आत्मनिर्भर बनाउनु तालिमको मुख्य उद्देश्य रहेको बताईन् । सूचना प्रविधिका क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई तालिमाबाट सहयोग पुग्ने पनि नगरपालिकाको विश्वास छ ।

Translate »