वीनपाद्वारा दुई करोडको अक्षयकोष स्थापना

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मध्यपश्चिम विश्वविद्यालयसँग मिलेर दुई करोड बढी राशीको उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।

आज एक कार्यक्रमका वीच मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ध्रुवकुमार गौतम र वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले २ करोड २ लाख २ हजार २ सय २ रुपैयाँ राशीको उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष सम्बन्धी आपसी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार स्थानीय सरकार र विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्दै छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ । यसबाट विशेषगरी स्थानीय विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा नगर प्रमुख ढकालले स्थानीय सरकारले पनि उच्च शिक्षाको दायित्व बहन गर्नुपर्छ भन्ने हेतुले आफ्नो नगर क्षेत्रभित्र अवस्थित विश्वविद्यालय र प्रदेश राजधानीको नगरपालिका हुनुको नाताले पनि सबै क्षेत्रलाई समेटेर लैजानुपर्ने अभिभारा आफूहरुसँग भएको बताईन् ।

उपकुलपति गौतमले विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय अनुभव र अभ्यासमा आधारित प्रस्तुति गर्दै आफ्नो नेतृत्वकालमा विश्वविद्यालयलाई समुदायसँग जोड्न र विश्वविद्यालयको स्थायी कोष (एन्डोमेन्ट फन्ड) निर्माणका लागि कार्यविधि पास गर्न पहल गरेको जनाए । उनले स्थानीय सरकार र विश्वविद्यालयबीचको सहकार्यले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा नगर उपप्रमुख निलकण्ठ खनाल, विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना थापा, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटासहित विभिन्न वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिए ।

Translate »