राजु देवकोटा बने ‘सर्वोत्कृष्ट ट्राफिक प्रहरी’

सुर्खेत । अस्थायी ट्राफिक प्रहरी पोष्ट सुब्बाकुना सुर्खेतमा कार्यरत प्रहरी सहायक हवल्दार राजु देवकोटा ‘सर्वोत्कृष्ट ट्राफिक प्रहरी’ घोषित भएका छन् ।

कर्णाली प्रदेशभरीको राजमार्ग तथा ट्राफिक व्यवस्थापनको जिम्मेवारी पाएको ‘नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय’ सुर्खेतले देवकोटालाई गएको चैत महिनाको ‘सर्वोत्कृष्ट ट्राफिक प्रहरी’ घोषित गरेको हो ।

ट्राफिक व्यवस्थापन, कार्यकुशलता, इमान्दारिता र कर्तव्यनिष्ठामा उल्लेखनीय भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको कार्यालयले जनाएको छ । उनले विभागीय मूल्य मान्यता, आदेश निर्देशन बमोजिम कर्तव्यनिष्ठ, अनुशासित, लगनशीलरुपले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याएको ट्राफिक कार्यालयको ठहर छ ।

उनको नेतृत्वमा सवारी दुर्घटना न्यूनीकरण गरी भौतिक तथा मानविय क्षतिमा कमी ल्याउनुका साथै ब्ल्याक स्पट पहिचान गरि ल्याएको, आवश्यकता अनुसार रिफ्लेक्टिभ बोर्ड, टेप, स्टिकरहरु टाँस, दुर्घटनाको उच्च जोखिम घटाउन स्थानीय सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गरेको उल्लेख छ ।

सहायक हवल्दार देवकोटाले प्रतिदिन बढ्दै गईरहेका सवारी दुर्घटना रोकथाम एवम् न्यूनीकरण गर्न राजमार्ग अन्तर्गतका सडक–खण्डहरुमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामुलक बोर्डहरु जडानसँगै ट्राफिक नियमहरुको ज्ञान अभिवृद्धि गराउने उद्देश्यका साथ ट्राफिक जनचेतनामुलक कार्यक्रमहरुमा सक्रिय भई अहम् भूमिका निर्वाह गरेको बताईएको छ ।

कार्यलयले दिएको जिम्मेवारी त्रुटी रहित ढंगबाट उत्कृष्ट कार्य सम्पादन गरेको पाईएकोले उनलाई ‘महिनाको सर्वोत्कृष्ट ट्राफिक प्रहरी छनौट मार्गदर्शन–२०८२’ बमोजिम ‘सर्वोत्कृष्ट ट्राफिक प्रहरी’ को रुपमा सम्मानित गरिएको जनाएको छ ।

Translate »