डिजिटल रुपान्तरणका लागि बहुविषयगत सहकार्य अपरिहार्य : मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रुपान्तरणको युगमा दीगो विकास हासिल गर्न बहुविषयगत सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
‘अन्तर्विषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रुपान्तरणको युगमा दीगो भविष्य निर्माण’ भन्ने मूल नाराका साथ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको बहुविषयक अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रविधि, शिक्षा, अर्थतन्त्र र समाजबीच समन्वय गरेर नवीन समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् ।
उनले मध्यपश्चिम विश्वविद्यालय स्थापनाको कठिन संघर्ष सम्झँदै यसको विकास र विस्तारमा आफू सदैव प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा सम्मेलनको महत्वपूर्ण साझेदार भारतको उडिसा स्थित ग्लोबल विरला विश्वविद्यालयका डीन अर्चना चौधरी, जर्मनीबाट प्रमुख वक्ताको रुपमा निम्त्याइनुभएकी डाक्टर सुसान्ने, काठमाडौं विश्वविद्यालयका उपकुलपति अच्युतप्रसाद वाग्ले सहितका वक्ताहरुले यस्तो अन्तरराष्ट्रिय सम्मेलनले ज्ञान आदानप्रदान, अनुसन्धानको स्तर वृद्धि तथा विश्वव्यापी शैक्षिक सहकार्य विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गरे ।
मध्यपश्चिम विश्वविद्यालयले आयोजना गरेको तीन दिने सम्मेलनमा डिजिटल रुपान्तरणका अवसर र चुनौतीबारे गहिरो बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ । बैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न सात क्षेत्रमा विषयगत सत्र, अनुसन्धानपत्र प्रस्तुति, प्यानल छलफल तथा अन्तरक्रिया हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा उपकुलपति ध्रुवकुमार गौतम, कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह, पोखरा विश्वविद्यालयका उपकुलपति वेदराज केसी, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्त, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजुकुमार थपलिया, काठमाडौं विश्वविद्यालयका उपकुलपति अच्युतप्रसाद वाग्ले, गण्डकी विश्वविद्यालयका उपकुलपति कृष्णप्रसाद अधिकारी, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवलगायतको सहभागिता रहेको मध्यपश्चिम विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिए ।


