कर्णालीका दुई केन्द्रमा कक्षा १२ को परीक्षा तोकिएको समय भन्दा एक घण्टा ढिलो शुरु

सुर्खेत । आज देखि शुरु भएको माध्यमिक शिक्षा उत्तीर्ण कक्षा १२ को परीक्षा कर्णालीका दुई केन्द्रमा तोकिएको समय भन्दा एक घण्टा ढिलो शुरु भएको छ ।

मुगुको सोरु गाउँपालिका स्थित कुरुमुरु परीक्षा केन्द्र र डोल्पाको जगदुल्ला गाउँपालिका स्थित काईगाउँ परीक्षा केन्द्रमा (इन्टरनेट) नेटवर्क नचल्दा अनलाईनबाट प्रश्नपत्र डाउनलोड गर्न समय लागेपछि राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने उक्त परीक्षा तोकिएको समय भन्दा एक घण्टा ढिलो शुरु भएको हो ।

बोर्डको सुर्खेत स्थित प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका अनुसार प्रदेशका आठ वटै जिल्लामा सोमबार (अँग्रेजी) विषयको परीक्षा व्यवस्थित, शान्तिपूर्ण एवं भयरहित तवरले सम्पन्न भएको छ ।

तर, आजै जाजरकोटको बारेकोट गाउँपालिका–२ स्थित वीरन्द्र ऐश्वर्य माध्यमिक विद्यालय परीक्षा केन्द्रमा अर्काको नामबाट परीक्षा दिन लागेकी युवती पक्राउ परेको प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख महेश देवकोटाले जनाए । उनका अनुसार सरिता विकको सट्टामा परीक्षा दिन पुगेकी बारेकोट गाउँपालिका–६, की २० वर्षीया सम्झना विक पक्राउ परेकी छन् ।

त्यस्तै रमेश नेपालीको स्थानमा परीक्षा दिन पुगेका नलगाड नगरपालिका–६, का १५ वर्षीय मानबहादुर नेपाली पनि पक्राउ परेका हुन् । यता पक्राउ परेका दुबै जनालाई कार्वाहीका लागि थप अनुसन्धान शुरु गरिएको जाजरकोट प्रहरीले बताएको छ ।

Translate »