सुर्खेत स्थित प्रदेश अस्पतालको हेलिप्याडमा सफल परीक्षण उडान


सुर्खेत । प्रदेश अस्पताल परिसरमा निर्माण गरिएको हेलिप्याडमा आज सफल परीक्षण उडान गरिएको छ ।
नेपाली सेनाको उत्तर–पश्चिम पृतना हेडक्वार्टर अन्तर्गत पश्चिम एयर बेस हवाई सेवाको प्राविधिक सहकार्य तथा समन्वयमा सफल परीक्षण उडान गरिएको हो । पश्चिम एयर बेस हवाई सेवाले विहीबार हेलिप्याडको प्राविधिक चेकजाँचपछि आज सफल परीक्षण उडान गरेको प्रदेश अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीले जानकारी दिईन् ।
उनले आकस्मिक स्वास्थ्य सेवालाई अझ छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको हेलिप्याडले गम्भीर तथा आकस्मिक अवस्थाका बिरामीलाई शीघ्र उद्दार गरी समयमै उपचार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । अस्पताले आफ्नो महत्वकांक्षी योजनामा राखेको ‘हवाई उद्दार सेवा’ लाई सफल बनाउन महत्वपूर्ण सहयोग पु¥याउने पश्चिम एयर बेस हवाई सेवालाई उनले धन्यवाद दिईन् ।


अस्पतालका लेखा प्रमुख प्रकाश शर्माले भने, ‘यसअघि नै अस्पतालको भवनमै हेलिप्याड निमार्ण गरिएको थियो । अब सफल परीक्षणले कर्णाली तथा सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लाबाट आकस्मिक रुपमा हेलिकप्टोरबाट उद्दार गरिएका बिरामीलाई सिधै अस्पतालमै ल्याउने सहज हुनेछ ।’
उनले यसअघि हेलिकप्टरबाट उद्दार गरिएका विरामीलाई सुर्खेत विमानस्थलमा ल्याण्ड गराएर त्यहाँबाट एम्बुलेन्समार्फत अस्पताल ल्याउनु पर्ने बाध्यता रहेको जनाए ।


