दुई दिन भित्र एसईईको नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुई दिन भित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डले २०८२ सालको (एसइई) को परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरेको थियो । उक्त परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालेको उक्त बोर्डले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने गरेको बताएको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३५ जना कर्मचारी ‘टेबुलेसन’ मा व्यस्त छन् । वैशाख २९ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ । ‘माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ मा परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था छ ।

गत वर्ष नियमित र स्तर वृद्धितर्फ गरी पाँच लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । रासस

Translate »