सुर्खेतमा क्रियाशील चार दलले भने, ‘भारतीय भूमि पनि नेपालले मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ’

वीरेन्द्रनगर । सुर्खेतमा क्रियाशील मुलधारका राजनीतिक पार्टीहरुले प्रधानमन्त्री बालेन्द्र साहले ‘भारतीय भूमि पनि नेपालले मिचेको छ’ भन्ने अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

देशको सार्वभौम संसदको रोस्टमबाटै कुनै प्रमाण, तथ्य वा आधिकारिक आधार बिना प्रधानमन्त्री जस्तो मान्छेले नेपालको राष्ट्रिय दाबी र कूटनीतिक स्थितिलाई कमजोर बनाउने जोखिम खेल शुरु भएको दलहरुले आशंका गरेका हुन् । प्रतिपक्षी ठूला चार दलले सोमबार एक संयुक्त विज्ञप्ति मार्फत नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय सुरक्षा तथा राष्ट्रिय स्वाभिमानसँग प्रत्यक्ष जोडिएको सीमा सम्बन्धि अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्रीबाट वैधानिक र ऐतिहासिक दाबीलाई नै अन्योलमा पार्ने प्रकृतिको अभिव्यक्ति आउनु आपत्तीजनक रहेको बताएका छन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूभागमा नेपालको अविभाज्य अंग भएको ऐतिहासिक दस्तावेज, सन्धि, प्रमाणका आधारमा निरन्तर आवाज उठाउँदै आएको परिप्रेक्षमा त्यस विपरीतको अभिव्यक्तिले राष्ट्रिय एकता कमजोर पार्ने, जनतामा भ्रम सिर्जना गर्ने तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको अडानलाई प्रभावित पार्ने खतरा रहेको आशंका दलहरुले व्यक्त गरेका छन् ।

‘नेपालको कुनै पनि आधिकारिक नक्सा, ऐतिहासिक अभिलेख वा राज्यको आधिकारिक दस्तावेजले नेपालले भारतीय भूमि अतिक्रमण गरेको पुष्टि गर्दैन । यदि प्रधानमन्त्रीसँग त्यस्तो कुनै तथ्य, प्रमाण वा आधिकारिक आधार छ भने त्यसलाई सार्वजनिक गरियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा राष्ट्र र जनतामा उत्पन्न अन्योल अन्त्य गर्न तथा जनताको आत्मसम्मानमा पुगेको आघातप्रति जिम्मेवारी वहन गर्दै स्पष्ट धारणा सहित सार्वभौम संसदको रोष्टममा उभिएर जनता समक्ष सार्वजनिक रुपमा माफि माग्न जोडदार माग गर्दछौं ।’

राष्ट्रियताको प्रश्न कुनै दल, सरकार वा व्यक्तिको मात्र नभएर यो सम्पूर्ण नेपाली जनताको साझा सरोकार, राष्ट्रिय अस्तित्व र भावी पुस्ताप्रतिको उत्तरदायित्वसँग जोडिएको विषय रहेको विज्ञप्तिमा भनिएको छ । राष्ट्रिय हितका विषयमा राज्यको नेतृत्वबाट उच्च स्तरको संवेदनशीलता, जिम्मेवारीबोध र स्पष्टता अपेक्षित हुनुको साटो गैरजिम्मेवार तरिकाले बोलिने कुराले आम जनसमुदाय आघात पुगेको दलहरुको ठम्याई रहेको छ ।

शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र परिवर्तनका पक्षधर राजनीतिक दलहरुले विगतदेखि नै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र स्वतन्त्र परराष्ट्र नीतिको पक्षमा दृढतापूर्वक आवाज उठाउँदै आएका छन् ।

नेपाली काँग्रेस सुर्खेतका सभापति खड्कबहादुर पोखरेल, नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटा, नेकपा (माओवादी) सुर्खेतका सेक्रेटरी धर्मराज देवकोटा र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बसन्तकुमार विश्वकर्माद्वारा जारी प्रेस विज्ञप्ति मार्फत राष्ट्रियताको विषयमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य हुन सक्दैन, भन्ने स्पष्ट मान्यता रहेको बताईएको छ ।

Translate »