२०८३ असोज १९ , सोमबार
Sky News Nepal
October 5, 2026

‘मानव पुँजीको विकास गर्नेपर्नेमा राष्ट्रिय जनसंख्या नीतिको जोड’



सुर्खेत । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय जनसंख्या नीति २०८२ को सार्वजनिकीकरण तथा अभिमुखीकरण गरेको छ ।

राष्ट्रिय जनसंख्याले नीतिले घट्दो प्रजनन दरलाई प्रतिस्थापन तहमा राख्दै जनसांख्यिक लाभ लिने लक्ष्य राखेको छ । हाल घटिरहेको प्रजनन दरलाई १ दशमलव ९४ बाट जनसंख्या वृद्धिदर सहज अवस्थामा पु¥याए २ दशमलव १ प्रतिशतमा पु¥याउने लक्ष्य राखेको हो ।

जनसंख्या नीतिले उच्च रहेको १५ देखि ५९ वर्ष उमेर समूहको ६१ दशमलव ९ प्रतिशत जनसंख्याबाट अर्थतन्त्रले लाभ लिने परिकल्पना समेत गरेको छ ।

जनसंख्या व्यवस्थापन महाशाखाका सहसचिव हेमराज सुवेदीले नीति कार्यान्वयनका संस्थागत, कानुनी, वित्तीय व्यवस्थाका साथै समन्वय, जोखिम पहिचान र व्यवस्थापन, अनुगमन, मूल्याङ्कन तथा पुनरावलोकन, कार्ययोजना, नीति खारेजी तथा बचाउका बारेमा जानकारी दिए ।

उनले जनसंख्याको अहिलेको अवस्थाका आधारमा योजना बनाउन आवश्यक रहेको र यसका लागि तीनै तहबीच समन्वय गर्न जनसंख्या नीतिले जोड दिएको बताए ।  उनका अनुसार जनसंख्या नीतिमा चार उद्देश्य, २० विशेषता, २७ रणनीति, १२० कार्ययोजना र दुई वटा अनुसूची रहेका छन् ।

‘सरोकारवालाहरुलाई जानकारी गराउन र कार्यान्वयन सुनिश्चित गर्न देशका विभिन्न स्थानमा यस्तो सार्वजनिकीकरण तथा अभिमुखीकरण गरिएको कार्यक्रम गरिएको छ,’ उनले भने, ‘यस्ता कार्यक्रमबाट प्रदेश तथा स्थानीय स्तरको जनसंख्या नीति तथा रणनीति ल्याउन मद्दत पुग्नेछ ।’

राष्ट्रिय जनसंख्या नीतिले आन्तरिक तथा बाह्य बसाईँसराइलाई व्यवस्थित र मर्यादित बनाउन सुझाव दिएको छ । त्यस्तै राष्ट्रिय जनसंख्या नीतिले मुलुकमा रहेको युवा जनसंख्याबाट अधिकतम लाभ लिने र मानव पुँजीको विकास गर्नेपर्नेमा समेत जोड दिएको छ ।

देशका हिमाली क्षेत्रका ३४ जिल्ला र ३ सय १९ पालिकामा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको अवस्थामा समस्या समाधान गर्न नीतिगत रुपमै अघि बढाउनुपर्नेमा देखिएको कार्यक्रममा जानकारी दिईएको हो ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले लागुऔषध, सडक दुर्घटना, आत्महत्याजस्ता घटना पछिल्लो समयमा बढिरहेकाले ती समस्या समाधान गर्ने नीति बन्नुपर्ने र त्यसको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

त्यस्तै संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) नेपालका अधिकृत तीर्थमान तम्माङ्गले बुहप्रतिक्षित नीति बन्नुमा उल्लेखनीय उपलब्धि हासिल भएको जनाए ।

मन्त्रालयका जनसंख्या व्यवस्थापन महाशाखा (तथ्याङ्क) का उपसचिव झविन्द्रप्रसाद पाण्डेयले नेपालको समग्र जनसांख्यिक अवस्थाबारे आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, सचिव रोशनी कुमारी श्रेष्ठ, कर्णाली प्रदेश सरकारका सचिव वीरेन्द्रकुमार यादवलगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०८३ जेठ २० गते बुधबार
Translate »