निबन्ध प्रतियोगितामा सैनिक महाविद्यालयकी छात्रा मोनिका प्रथम

सुर्खेत । सैनिक आवासिय महाविद्यालयकी छात्रा मोनिका बडुवाल प्रथम भएकी छन् ।

विश्व वातावरण दिवसको अवसरमा प्रदेश वन निर्देशनालय कर्णालीले वातावरण संरक्षण, सरसफाइ तथा जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित निबन्ध प्रतियोगितामा मोनिकाले प्रथम स्थान प्राप्त गरेकी हुन् । मोनिकाले प्रतियोगिताबाट १५ हजार नगदसहित प्रमाणपत्र र ट्रफी हात पारिन् ।

वन निर्देशनालयले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको सहभागितामा ‘वन वातावरण तथा जैविक विविधता संरक्षणमा विद्यार्थी नेतृत्वको भूमिका’ विषयक निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा वीरेन्द्रनगर भित्रका सात वटा माध्यमिक विद्यालयका ४० जना विद्यार्थीले भाग लिएका थिए ।

प्रतियोगितामा सैनिक आवासिय महाविद्यालयकै सिक्सटिना बोहराले द्वितीय स्थान हात पार्दै नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफी हात पारिन् । त्यस्तै उषा बालबाटिका माध्यमिक विद्यालयकी जोसना बुढाले तृतीय स्थान हात पार्दै नगद पाँच हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरिन् ।

प्रतियोगितामा उषा बालबाटिका माध्यमिक विद्यालयका प्रिन्स पन्त, भैरव माध्यमिक विद्यालयका दिपेन्द्र शाही, अमरज्योति माध्यमिक विद्यालयका सुर्दशन अधिकारी र सरस्वती थापा एवं नविना गौतमले नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र, मेडलसहित सान्त्वना पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीलाई कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन वातावरण मन्त्री सुरेश अधिकारी, सचिव अजितकुमार कर्ण र प्रदेश वन निर्देशनालयका निर्देशक शेरबहादुर श्रेष्ठले पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरेको प्रतियोगिता कार्यक्रम संयोजक जेपी बुढाथोकीले जानकारी दिए ।

उनले भेरी नदी पुल नजिक सुन्दर कर्णाली गौशालामा आयोजित वृक्षारोपण कार्यक्रम मार्फत विद्यार्थीलाई पुरस्कार वितरण गरिएको बताए । पुरस्कार वितरण कार्यक्रममा वन निर्देशनालयका निर्देशक शेरबहादुर श्रेष्ठले वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनिकरण तथा प्राकृतिक स्रोतहरूको दिगो उपयोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थी वीच प्रतियोगिता आयोजना गरिएको जनाए ।

उनले निबन्ध प्रतियोगिता मार्फत विद्यार्थीहरुलाई प्रकृति र मानव जीवन एकअर्काका परिपूरक हुन् भन्ने संदेश दिनु पनि रहेको बताए । ‘स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल र जैविक विविधता हाम्रो अस्तित्वका आधार हुन्,’ उनले भने, ‘पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनको असर, अव्यवस्थित सहरीकरण र बढ्दो वन विनाशले हाम्रो पर्यावरण गम्भीर संकटमा परेको छ ।’

उनले यस्तो विषम परिस्थितिमा वातावरण जोगाउनु हामी सबैको, अझ विशेष गरी भोलिका कर्णधार विद्यार्थीहरूको प्रमुख दायित्व बन्न पुगेको जनाए । ‘भोलिका लागि आज’ भन्ने मान्यतालाई आत्मसात् गर्दै अघि बढ्ने युवापुस्ता नै वातावरण संरक्षणको सच्चा संवाहक रहेको उनको भनाइ थियो ।

 

Translate »