बिनाधितो १० लाखसम्म ऋण

काठमाडौं । लघु, साना तथा मझौला व्यवसायीले कारोबारमा आधारित भएर डिजिटल माध्यमबाटै कर्जा पाउन सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैङ्कले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जाको दायरा विस्तार गर्दै लघु, साना तथा मझौला व्यवसायीलाई अधिकतम १० लाख रुपियाँसम्म बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।

डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा मार्गदर्शन सच्याउँदै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको छ । यस्तो कर्जा लिन धितो राख्नुपर्ने छैन । यस्तै नियमित आम्दानीको आधार पुष्टि नभएका अन्य व्यक्तिले अधिकतम दुई लाख रुपियाँसम्म कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यी कर्जाको भुक्तानी अवधि अधिकतम तीन वर्ष तोकिएको छ ।

दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जाका रूपमा यस्ता व्यवसायीलाई १० लाखसम्मको ऋण डिजिटल माध्यमबाटै दिने व्यवस्था नयाँ मार्गदर्शनले गरेको हो । एक वर्ष अवधिको अल्पकालीन चालु पुँजी कर्जाका रूपमा भने यी व्यवसायीले पाँच लाख रूपैयाँसम्म प्राप्त गर्ने भएका छन् ।

अहिले पनि तलबी खाता हुने ग्राहकले तीन वर्षका लागि पाँच लाख रूपैयाँसम्मको कर्जा डिजिटल माध्यमबाटै प्राप्त गर्दै आएका छन् ।

‘बैंक तथा वित्तीय संस्थाले कर्जा उपभोग गर्न चाहने ग्राहकलाई प्रणाली तथा प्रविधि प्रदान गर्ने संस्थामार्फत ग्राहकको सहमतिमा निजको व्यवसाय तथा कारोबारसँग सम्बन्धित आवश्यक विवरण विद्युतीय कर्जा विश्लेषण गर्ने प्रयोजनको लागि प्राप्त गर्न सक्नेछन्,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘यसरी प्रदान भएको कर्जामा निहित जोखिम सम्बन्धित बैंक तथा वित्तीय संस्थामा रहनेछ ।’

Translate »