४६ औं नेशनल एथलेटिक्स च्याम्पियनसिपमा २४० खेलाडी सहभागी हुँदै

सुर्खेत । ४६ औं नेशनल एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबारदेखि शुरु हुन लागेको छ ।

बुधबार नेपाल एथलेटिक्स संघले वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी तीन दिनसम्म सञ्चालन हुने नेशनल एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

नेपाल एथलेटिक्स संघको आयोजना एवं कर्णाली प्रदेश खेलकुद परिषद्को सहयोगमा असार ५, ६ र ७ गते सुर्खेत स्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिता आयोजना गरिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजिवविक्रम शाहले पहिलो पटक कर्णालीमा आयोजित च्याम्पियनसिपले प्रदेशको खेलकुद विकाससँगै राष्ट्रिय स्तरका खेलाडीहरुको प्रतिभा पहिचानमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

उनले १४ वटा ईभेन्ट रहेको राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाल एपीएफ क्लब लगायत अन्य विभागीय र प्रादेशिक टोलीका धावक तथा खेलाडीहरुले आ–आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा १० टीमका १२० महिला, १२० पुरुष खेलाडीसँगै १० जना प्रशिक्षक, १० जना टीम म्यानेजर र ६० जना प्राविधिकसहित कुल ३२० जना सहभागी हुने उनको भनाइ छ ।

प्रतियोगितामा प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीय हुने खेलाडीले ५ हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब ७० लाख रुपैयाँ खर्च लाग्नेछ ।

उक्त खर्चको ८० प्रतिशत रकम कर्णाली प्रदेश सरकारले व्यहोर्ने आयोजकको भनाइ छ ।

Translate »