

वीरेन्द्रनगर । सुर्खेत प्रहरीले धर्मको नाममा दुर्व्यवहार गर्ने पाथीभरा माता नामले चिनिने एक पुरुषलाई पक्राउ गरेको छ ।
प्रहरीले बुधबार २४ वर्षीय समीर थापालाई वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको हो । प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको टोलीले थापालाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
थापाले धर्मका नाममा झारफुक तथा हेराईमनाई गर्छु भन्दै एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।थापालाई फोटो तथा भिडियोहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको अवस्थामा स्थानीयले टेलिफोनमार्फत प्रहरीलाई जानकारी गराएका थिए ।

त्यसलगत्तै प्रहरीले थापालाई पक्राउ गरेको हो । थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनले धर्मको नाममा झारफुक तथा हेराई मनाई गर्छु भन्दै मानिसहरूलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
जसमा उनले एक महिलालाई निर्घात कुटपिट गरिरहेका छन् । अपशब्द प्रयोग गर्दै कुटपिट गरेपछि ती महिला निकै असहज देखिन्छन् । साथै, उनले अर्को महिलालाई भिडियो खिच्न भनिरहेका छन् भने खुट्टाको पैतला चटाउन भनिरहेका छन् ।
उक्त अमानविय क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले हदैसम्मको कानूनी कारवाहीका लागि देशव्यापी दवाव बढिरहेको छ । महिला भेषमा प्रस्तुत भएर आफुलाई पाथीभरा माताका नामले चिनाउने थापाको सर्वत्र आलोचना भईरहेको छ ।










