कर्णाली करिडोरको २२ प्रतिशत मात्र प्रगति

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गतको कर्णाली करिडोरले १३ वर्षमा २२.६० प्रतिशत मात्र भौतिक प्रगति गरेको महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनले देखाएको छ ।

राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको खुलालुदेखि सिमीकोट हुँदै हिल्सासम्मको २६९ किलोमिटर सडक निर्माण कार्य आर्थिक वर्ष २०६९/७० मा सुरु गरिएको थियो । निर्माण कार्य २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि अब अवधि बढाएर २०८४÷८५ सम्म पुर्‍याइएको प्रतिवेदनमा उल्लेख छ ।

सुरुमा १६ अर्ब १० करोड रुपैयाँको लागत अनुमान गरिएको यो आयोजनाको लागत हाल संशोधित भएर १८ अर्ब ६६ करोड पुगेको छ ।

प्रतिवेदनअनुसार कुल लम्बाइमध्ये २६८.२ किलोमिटर ट्र्याक निर्माण भइसकेको छ, तर भौतिक प्रगति भने केवल २२ प्रतिशत पुगेको जनाइएको छ।

यद्यपि, अधिकांश भागमा ट्र्याक खुलेसँगै स्थानीय उत्पादनको बजारीकरण र यातायातमा सहजता आउन थालेको छ । दैलेख, कालीकोट, बाजुरा र हुम्लाका धेरै स्थान मुख्य बजारका रुपमा विस्तार भइरहेका छन् ।

Translate »