नेपाली सेनाद्वारा मुगुको पुतुमा हेलिप्याड निर्माण


मुगु । नेपाली सेनाले मुगुका मुगुम कार्मारोङ्ग गाउँपालिका–१ पुतुमा हेलिप्याड निर्माण गरेको छ ।
सेनाको उत्तर पश्चिम पृतनाले हेलिप्याड निर्माण गरी स्थानीय पालिकालाई हस्तान्तरण गरेको हो । उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजङ्ग थापाले एक समारोहका बीच गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामालाई उक्त हेलिप्याडको जिम्मा हस्तान्तरण गरेका छन् ।
पालिकाका अध्यक्ष लामाले नेपाली सेनाको प्रयासको प्रशंसा गर्दै भने, ‘ हेलिप्याड नहुँदा विगतमा मुगुमका जनताले विपद्का बेला उद्दार तथा राहत पाउने अवसरबाट वञ्चित हुँदै आएका थिए । सुत्केरी महिला र बिरामी नागरिक समयमै उपचार नपाएर ज्यान गुमाउने अवस्था पर्ने थियो । अब पालिकाभित्रै मापदण्डअनुसारको हेलिप्याड निर्माण भएपछि आवश्यक परेको बेला हेलिकप्टर सेवा सहज हुनेछ ।’
कार्यक्रममा पृतनापति थापाले दुर्गम क्षेत्रका नागरिकले पनि राज्यको उपस्थिति अनुभूत गर्न सकुन् भन्ने उद्देश्यले नेपाली सेनाले यस्ता पूर्वाधार निर्माणलाई प्राथमिकता दिइरहेको बताए । उनले विपद् व्यवस्थापन, जटिल सुत्केरी केसको उद्दार, राहत वितरणमा हेलिप्याडले ठूलो सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

मुगुम कार्मारोङ्ग क्षेत्रमा यार्सागुम्बा सङ्कलनका लागि हरेक वर्ष हजारौं व्यक्ति पुग्ने गर्छन् । उच्च हिमाली भेग, चिसो मौसम, अक्सिजनको कमी लगायतका कारण सङ्कलकहरू बिरामी हुने र समयमा उपचार नपाएर मृत्युको जोखिममा पर्ने अवस्था छ ।
सेनाको हनुमान ध्वज गुल्मका गुल्मपति खिमबहादुर अधिकारिका अनुसार, अब बिरामी सङ्कलकहरूको शीघ्र उद्धार सम्भव हुनेछ।
१६ लाख ४७ हजार ६ सय ३० रुपैयाँको लागत अनुमान गरिए पनि नवीन निर्माण सेवाले ८ लाख ४४ हजार १७३ रुपैयाँमा निर्माणको जिम्मा लिएको थियो ।
२०८१ साल माघ २५ गते सुरु भएको निर्माण कार्य २०८२ जेठ २ गते सम्पन्न भएको हो । हनुमान ध्वज गुल्म हुटु राराको समन्वयमा सम्पन्न उक्त हेलिप्याड अब गाउँपालिकाको स्वामित्वमा रहने छ ।

