सुर्खेतमा माध्यमिक स्तरीय अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता हुँदै


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आईतबारदेखि माध्यमिक स्तरीय अन्तरविद्यालय हाजिरी जवाफ (क्विज) प्रतियोगिता हुने भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) ले आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी पहिलो पटक निजी विद्यालयका छात्रछात्राहरुको प्रतिभा राष्ट्रिय स्तरमै पु¥याउने उद्देश्यले आईतबार विहान ७ बजेदेखि जिल्ला समन्वय समितिको हलमा जिल्ला स्तरीय क्विज प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।
प्रतियोगिताको पूर्वसंध्यामा आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रिय उपाध्यक्ष नैनसिंह खत्रीले निजी क्षेत्रबाट शिक्षाको गुणस्तर सुदृढिकरणमा हाजिरी जवाफ (क्विज) प्रतियोगिताले विद्यार्थीको सिकाई उपलब्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पहिलो पटक निजी स्तरका विद्यालयका छात्रछात्राहरु वीच प्रतिस्पर्धा गराईएपनि आउँदा दिनहरुमा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई समेत समेट्ने गरी जानुपर्नेमा जोड दिए ।
प्याब्सनका केन्द्रिय सल्लाहकार नवराज गुरुङ्गले अन्तरक्रियात्मक सिकाई तथा अनुभवले विद्यार्थीको अध्ययन क्षमता विकासमा थप टेवा पुग्ने जनाए । उनले क्विज प्रतियोगिता मार्फत विद्यार्थीको शैक्षिक उत्कृष्टता, सामान्य ज्ञान, समूह कार्यभावना अभिबृद्धिसँगै प्याब्सन सदस्य विद्यालयहरु वीच सहकार्य र एकता सुदृढ हुने बताए ।


प्याब्सनका जिल्ला अध्यक्ष छत्रबहादुर बडुवालले जिल्लाका ३२ विद्यालयका १ सय २८ जना छात्रछात्राहरुले विभिन्न राउण्डमा प्रतिस्पर्धा गर्ने बताए । उनले सामान्य राउण्डमा–३२ प्रश्न, अडियो भिजुअल राउण्डमा–३० प्रश्न, बजर राउण्डमा–२४ प्रश्न र ¥यापिड फायर राउण्डमा– प्रतिटोली १२ प्रश्नहरुको साम्ना गर्ने जनाए ।
उनका अनुसार असार ८ गतेदेखि शुरु हुने क्विज प्रतियोगिता १४ गते विविध कार्यक्रमका वीच सम्पन्न हुनेछ । ‘क्विज प्रतियोगितामा प्रत्यक विद्यालयका ४ जना विद्यार्थीको एउटा टीम दर्ता हुनेछन्, यसरी दर्ता भएका सहभागि टोलीहरुलाई समूह ए, बी र सीमा ड्रा मार्फत विभाजन गरिनेछ,’ उनले भने, ‘त्यसपछि प्रत्यक समूहका विजेता, उपविजेता टोलीहरु फाइनलमा प्रतिष्पर्धा गर्नेछन् ।’
उनले समूह चरण अन्तर्गत (स्टीम राउण्ड) मा विज्ञान, प्रविधि, ईन्जिनियरिङ, कला र गणित, (सामाजिक राउण्ड) मा ईतिहास, नागरिकशास्त्र, संस्कृति, साहित्य र समसामयिक एवम् (बजर राउण्ड) मा बौद्धिक क्षमता (आईक्यू) का ९ सय २० वटा प्रश्नहरु सोधिने बताए ।
प्रतियोगिताको विजेताले १५ हजार, पहिलो उपविजेताले १२ हजार, दोस्रो उपविजेताले ८ हजार र तेस्रो उपविजेताले ५ हजार नगदसँगै प्रमाणपत्र प्राप्त गर्ने प्याब्सन वीरेन्द्रनगरका अध्यक्ष पूर्णबहादुर भण्डारीले जानकारी दिए ।
उनले क्विज प्रतियोगिता मार्फत शैक्षिक सक्रियता, एकता र नवप्रवर्तनमा नयाँ आयाम थपिने अपेक्षा व्यक्त गरे । उनका अनुसार प्रतियोगिताले विद्यालयहरुको पहिचान एवम् प्रतिष्ठासँगै बौद्धिक प्रवद्र्धनमा सहयोग पुग्नेछ ।


