शिक्षा प्रणालीमै नवीनतम् सुधारको खाँचो छ : मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान शिक्षा प्रणालीलाई नवीनतम् सुधार आवश्यक रहेको बताएका छन् ।
आज सुर्खेतको वीरेन्द्रनगर स्थित अमरज्योति माध्यमिक विद्यालयको प्रशासनिक एवम् शैक्षिक भवन निर्माण कार्यको शिलान्यास गर्दै उनले अहिलेको युग अनुसारको शिक्षाले मात्र विद्यार्थीलाई प्रतिस्पर्धी, सक्षम र उत्पादनशील बनाउन सक्ने विश्वास व्यक्त गरे ।
समय अनुसार शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो रहेको स्पष्ट पार्दै उनले अझै पनि परम्परागत शिक्षण पद्धतिका कारण विद्यार्थीले केवल किताब पढ्ने र परीक्षा पास गर्ने लक्ष्यमै सीमित हुनु परेको बताए । अब हामीले व्यवहारिक, प्रविधिमैत्री र नवीन शिक्षण प्रणालीलाई अवलम्बन गर्दै भौतिक पूर्वाधार सुधारसँगै गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।


शिक्षालाई जीवन उपयोगी बनाउने गरी पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणाली परिमार्जन गर्नु आवश्यक रहेको औल्याउँदै उनले शिक्षामा रुपान्तरण ल्याउन नीतिगत सुधार, स्रोत व्यवस्थापन र सक्षम शिक्षकको भूमिका महत्वपूर्ण हुने जनाए । प्रदेश सरकारको तर्फबाट कर्णालीका विद्यालयहरुमा आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गरिएको उनको भनाइ थियो ।
मुख्यमन्त्री कँडेलले कर्णाली जस्तो भौगोलिक रुपमा विकट प्रदेशमा शिक्षाको माध्यमबाट दीर्घकालीन विकास सम्भव हुने उल्लेख गर्दै शिक्षक, अभिभावक र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको औल्याए । शिक्षा अब सामाजिक परिवर्तनको साधन हुनुपर्छ, त्यसका लागि हामी सबै एकजुट हुनु पर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो । शैक्षिक भवन कर्णाली प्रदेश सरकारको ५ करोड ८९ लाख २४ हजार आठ सय ३४ रुपैयाँ लागतमा ३३ कोठाको भवन निर्माण हुने छ ।
भवन २०८३ पुष १५ गते सम्म निर्माण सम्पन्न गर्नुपर्ने कार्यदेश निर्माण कम्पनीले पाएको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, शिक्षा विकास निर्देशनालयका प्रमुख दिपा हमाललगायत शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।



