सुर्खेतमा २९२ दशमलव ३ मिलिमिटर वर्षा


सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा मुसलधारे वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२ दशमलव ३ मिलिमिटर वर्षा भएको मापन गरिएको हो । केही दिनयता नेपालमा मनसुन थप सक्रिय भएको छ ।

स्थानीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा वर्षा भएको र पूर्वमा भने बङ्गालको खाडीबाट आएको प्रणालीको असर भएको विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले न्यूनचापीय प्रणाली सक्रिय रहेकाले पश्चिम क्षेत्रको निश्चित केन्द्रमा बढी, तर सीमित क्षेत्रमा खण्डित वर्षा भएको बताइन् ।
विभागका अनुसार बाँकेमा पनि १४६ दशमलव ३ मिलिमिटर वर्षा भएको छ । यसैगरी दाङमा १३८ भएको छ भने १२ भन्दा बढी स्टेसनमा ८० देखि १०० मिलिमिटरको बीचमा वर्षा भएको छ । धेरै मापन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ । मौसमविद् मानन्धरले भोलिदेखि केही कम हुने बताइन् । रासस

