‘कर्णालीका आँखा उपचार केन्द्रहरुलाई अस्पतालमा रुपान्तरण गरिनु पर्छ’

सुर्खेत । नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशका सभापति लिलाराम सुवेदीले कर्णालीका हाल कर्णालीका दश पालिकामा रहेको आँखा उपचार केन्द्रहरुलाई अस्पतालमा रुपान्तरण गर्नु पर्ने बेला आएको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताको आयोजनामा शनिबार वीरेन्द्रनगरमा सम्पन्न आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समिक्षा र आर्थिक वर्ष २०८२ /०८३ को योजना तर्जुमा गोष्ठीमालाई सम्बोधन गर्दै सभापति सुवेदीले कर्णालीका सबै जिल्लामा स्थायीरुपले आँखा उपचार केन्द्रका माध्यमबाट आँखा स्वास्थ्य सेवा प्रदान गर्न ढिलाई गर्न नहुने बताएका हुन् ।

उनले कर्णालीमा दृष्टिदोषको समस्या बढी देखिएकाले समयमै उपचार पाउन नसके विस्तारै मोतियाबिन्दु हुँदै अन्धोपनका विरामीको संख्यामा बृद्धि हुने चिन्ता जाहिर गरे ।

‘नेपाल रेडक्रस सोसाईटीले सुर्खेतमा पनि पहिले आँखा उपचार केन्द्रबाट शुरु गर्दै ‘सुर्खेत आँखा अस्पताल’ मा स्तरोन्नती गरिएको हो,’ उनले भने, ‘अहिले सुर्खेत बाहिर रहेका आँखा उपचार केन्द्रको शुरुवात पनि सानैबाट भएपनि विस्तारै आवश्यकतामा ठूलो बनाउँदै लैजार्नु पर्ने देखिन्छ ।’

उनले अस्पताल र आँखा उपचार केन्द्रको सञ्चालित समिक्षा बैठकबाट सिकाई गर्दै तयार गरिएको योजना कार्यान्वयनको सफलताकोे शुभकामना दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सुर्खेतका सभापति रामलाल आचार्यले कर्णालीमा आँखा स्वास्थ्यबारे अझै पनि जनचेतनाको कमी रहेकाले विभिन्न समयमा शिविरसँगै विद्यालय आँखा स्वास्थ्य कार्यक्रम र आँखा उपचारको संस्थागत क्षमता विस्तार गर्नुपर्ने औल्याए ।

उनले कर्णालीका अधिकांश जिल्लामा जनचेतना विस्तार समुदाय स्तरमै गर्नुदेखिएको बताए । ‘कर्णालीमा आँखा स्वास्थ्य प्रणाली एकदमै एफोर्डेबल छ । गुणस्तरीय पनि छ,’ सुर्खेत आँखा अस्पताल सञ्चाक समितिका संयोजक समेत रहेका आचार्यले भने, ‘हामीले गरिब, विपन्न, निमुखा र अप्ठ्यारामा परेका नागरिकलाई निःशुल्क पनि सेवा प्रदान गरेका छौं । कुनै पनि आँखाको समस्या छ भने नजिकको आँखा अस्पताल वा उपचार केन्द्रमा जान नागरिकलाई सुझाव दिनुहोस् ।’

उनले पछिल्लो समय स्थानीय र प्रदेश सरकारले समेत स्थानीयस्तरमा आँखा स्वास्थ्यलाई एकीकृत गर्नतर्फ अगाडि बढ्ने प्रयास जारी राखेको जनाए । गोष्ठीका सहभागीसँग सहकार्य, समन्वय र आफ्ना प्रतिबद्धता कार्यान्वयनका लागि अस्पताल सञ्चालन समिति प्रतिबद्ध रहेको बताउँदै उनले तर्जुमा गरिएको योजना सफल कार्यान्वयनका लागि शुभकामना समेत दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका सभापति हरि बस्नेतले अस्पतालले आयोजना गरेको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सफल र फलदायी रहेको बताए । उनले यस्ता दिर्घकालिन लाभका रणनीति र योजना बनाउन वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी प्रभावकारी देखिएकाले निरन्तरता दिन सुझाव दिए ।

छेडागाड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक खड्काले आँखा उपचारका लागि बनाईएको रणनीति र योजना आफ्नो पालिकामा सञ्चालन हुने समिक्षा तथा योजना तुर्जमा गोष्ठीमा समेत प्रस्ताव राख्ने जनाए । गोष्ठीमा सुर्खेत आँखा अस्पताल एवं अस्पताल अन्तर्गत रहेका पालिकासँगको सहकार्यमा सञ्चालित १० वटा आँखा उपचार केन्द्रहरुको वार्षिक समिक्षासँगै वार्षिक योजना तर्जुमा तयार गरी सम्पन्न भएको सुर्खेत आँखा अस्पतालका व्यवस्थापक घनबहादुर थापाले बताए ।

उनले कार्यक्रममा सुर्खेत आँखा अस्पताल सँचालन समितिका पदाधिकारीहरु, सुर्खेत आँखा अस्पतालका कर्मचारीहरु, १० वटा उपचार केन्द्र आठविसकोट नगरपालिका दैलेख, त्रिपुरासुन्दरी नगरपालिका डोल्पा, आठविसकोट नगरपालिका, छेडागाड नगरपालिका जाजरकोट, भेरी नगरपालिका जाजरकोट, वनगाड नगरपालिका सल्यान, भेरीगंगा नगरपालिका छिन्छु र पन्चुपुरी नगरपालिकाका आँखा उपचार केन्द्रका ईन्चार्जहरु, स्वास्थ्य शाखा प्रमुखहरु, रेडक्रस दैलेख जिल्ला शाखा सभापति र जाजरकोट शाखा सभापतिको सहभागिता रहेको जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा सुर्खेत आँखा अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डा. आकांक्षा रानाले प्रस्तुती गरिन् भने आँखा उपचार केन्द्रको प्रस्तुतिकरण ईन्चार्ज र स्वास्थ्य शाखा प्रमुखहरुले गरेका थिए ।

 

Translate »