सुर्खेतका चार पालिकामा ५२ प्रकारका सङ्क्रमण रोग निगरानी प्रणाली लागू गरिँदै


सुर्खेत । जिल्लाका चार पालिकामा सङ्क्रमण रोगहरुको सुक्ष्म निगरानी प्रणाली लागू गरिने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफसँगको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमार्फत सुर्खेतका पञ्चपुरी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकाभित्र ५२ प्रकारका सङ्क्रमण रोगहरुको सुक्ष्म निगरानी गरिने भएको हो ।
जिल्लामा सङ्क्रमण रोगहरुको सुक्ष्म निगरानी प्रणाली लागू गर्नका लागि सोमवार कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्का र पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यकारी निर्देशक डा.जनक थापा वीच सहकार्य तथा समन्वयका लागि समझदारी पत्रमा सहमति भएको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशका निर्देशक डा.खड्काले नेपाल सरकारले तोकेको ५२ प्रकारको महामारीजन्य संक्रामक रोगको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र त्यसको समाधान गरिहाल्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन हुन लागेको बताए ।


पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यकारी निर्देशक थापाले सुर्खेतका चार नगरपालिकामा कार्यक्रम सञ्चालन हुने बारेको जानकारी पत्र निर्देशक खड्कालाई हस्तान्तरण गरेका छन् । साथै कार्यक्रम सञ्चालनको लागि आवश्यक तथ्यांक उपलब्ध गराउनुका साथै अन्य सहयोग गर्न पनि डाक्टर थापाले स्वास्थ्य निर्देशनालयलाई अनुरोध गरे ।
रोग नियन्त्रण महाशाखाले विभिन्न सूचक तयार गरी पहिलो चरणमा देशभरका २२ जिल्लाका ४४ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न लागेको छ । ती ४४ स्थानीय तहका ६ सय ६२ वटा वडामा कार्यक्रम सञ्चालन हुने पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका एसडीसी अफिसर सुशान्त लुईटेलले जानकारी दिए ।
उनले पहिलो चरणमा यो कार्यक्रम लागु हुने सुर्खेतका चार पालिकाका आमा समूह, टोल समूह, विद्यालय नर्स, शिक्षक, जनप्रतिनिधि र सुरक्षाकर्मी वीच अभिमुखिकरण गरिने बताए ।
सुर्खेतका चार नगरपालिकामा यस कार्यक्रम कार्यान्वयनको लागि प्रत्यक वडामा २५ जनाको इपिडेमिक इन्टिलिजेन्स भोलेन्टियर टिम गठन हुने सुर्खेत प्रतिनिधि तथा जिल्ला कार्यक्रम अधिकृत सविता बुढाथोकीले जानकारी दिईन् ।
उनले महिला स्वास्थ्य स्वयंमसेविका, शिक्षक, नीजि फार्मेसी सञ्चालक, जनप्रतिनिधिसहितको टिमलाई आवश्यक तालिम प्रदान गरी रोग निरीक्षणमा लगाइने जनाईन् ।
उनका अनुसार कार्यक्रम सुर्खेतमा २०८३ पुस मसान्तसम्म सञ्चालन हुनेछ । जिल्लामा कुनैपनि प्रकारका सङ्क्रमण रोगहरु देखा परेपछि नजिकको स्वास्स्थ्य चौकी वा हेलो स्वास्थ्यको १११५ मा सूचना प्रवाह गर्न सबै नागरिकलाई सक्षम बनाउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

