शापू रोगबाट बच्न चिकित्सकको आग्रह

सुर्खेत । सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (शापू) रोगबाछ बच्न चिकित्सकले आग्रह गरेका छन् ।

आज स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको ‘शापू रोग सबन्धि सञ्चारकर्मी तथा सरोकारवालाका लागि अभिमुखिकरण कार्यक्रम’मा शापू रोग मध्यपहाडी क्षेत्रमा वर्षायामपछि (भदौदेखि मंसिरसम्म) लाग्ने गरेको विशेषज्ञ चिकित्सकहरुले जानकारी दिएका हुन् ।

सुर्खेत आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. आकांक्षा रानाले आँखा रातो भएको खण्डमा यसलाई सामान्य आँखा पाकेको भनी भर परेर नबस्न आग्रह गरिन् । शापू रोग साना बालबालिकाका लागि अझ घातक हुन सक्ने भन्दै उनले बच्चालाई सरसफाइबारे बुझाउन नसकिने र बच्चाले आफ्नो आँखाको समस्याबारे बताउन नसक्ने भएकाले साना बच्चाहरु उच्च जोखिममा रहेको जानकारी दिईन् ।

डाक्टर रानाले यो रोगका लक्षणहरु देखा परेको २४ देखि ४८ घण्टासम्म उपचार नगरिएको खण्डमा आँखाको दृष्टि गुम्न सक्ने बताईन् । सेतो पुतलीबाट सर्ने शापू आँखाभित्रका तीनवटै पत्रमा संक्रमण गर्ने गरेको बताउँदै डाक्टर रानाले पुतलीका रौंहरुमा इम्युनोलाँजिकलको रियाक्सनले आँखामा क्षति पु¥याउने गरेको जानकारी दिईन् ।

जसले गर्दा आँखाको दृष्टि गुम्न सक्ने उनको भनाइ छ । समयमै उपचार भएमा भने यो रोग निको हुन्छ । तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जाने स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डाक्टर रविन खड्काले जानकारी दिए ।

उनले कर्णालीमा यो शापू रोग देखिएको प्रमाणित तथ्य फेला नपरेपनि जुनसकै बेला आउन सक्ने भएकाले पूर्व सचेतना र सहजता अपनाउन आवश्यक रहेको औल्याए । उनका अनुसार यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्रमा जानुपर्छ ।

आफू खुसी औषधि वा जडिबुटिको प्रयोग नगर्न उनले सुझाव दिए । आँखा पाक्ने रोग लाग्दा आँखा रातो हुने, कचेरा लाग्ने भए पनि सुरुमै दृष्टिमा कमजोरी नआउने, तर शापू रोगमा भने आँखामा कचेरा वा चिप्रा नलागी आँखा रातो हुने, दृष्टि कमजोर हुने, उज्यालोमा हेर्न गाह्रो हुनेजस्ता लक्षण देखिने गरेको चिकित्सकको भनाइ छ ।

सापु रोगका लक्षणहरु

–एक्कासी आँखा रातो हुनु

–चिप्रा नलाग्नु

–उज्यालेमा हेर्न नसक्नु

–आँखा दुख्नु

–तत्काल आँखाको दृष्टिमा कमी हुनु

–उपचारमा ढिलाइ हुँदा कालो नानीमा सेतो देखिनु

रोकथामका उपाय

–सेतो पुतलीको संसर्गबाट टाढै रहने

–धेरै उज्यालो बत्ती नबाल्ने

–साँझ र राती झ्याल ढोकामा बन्द गर्ने

–सुत्ने कोठामा मधुरो बत्ती निभाएर वा झुल लगाएर सुत्ने

Translate »