कर्फ्यु जारी भएसँगै महँगीको मारमा सुर्खेती

लक्ष्मी विक/वीरेन्द्रनगर । जेनजीको आन्दोलनले उत्पन्न समस्या निराकरणका लागि नेपाली सेनाले लगाएको कर्फ्युका कारण अत्यावश्यक उपभोग्य वस्तुको मूल्यमा बृद्धि भएको छ ।

कर्णाली प्रदेश राजधानी सुर्खेतसहित आसपासका जिल्लाहरुमा सामानको ढुवानी खर्च बढेको भन्दै व्यवसायीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका छन् । दाल, चामल, तेल, तरकारीलगायत दैनिक उपभोग्य सामग्रीको मूल्य बढेपछि स्थानीय उपभोक्ता मारमा परेका हुन् ।

कर्फ्यु  तथा निषेधाज्ञा जस्ता कारण आफुहरुले सामान ढुवानी गर्दा भाडा धेरै तिर्नुपरेको भन्दै मूल्य बढाएर बेचेको व्यापारीले स्वीकार गरेका छन् । यातायातका सवारी साधन चल्न नसक्दा वीरगञ्ज, चितवन, बुटवल र नेपालगञ्जसहितका ठूला सहरबाट आवश्यक सामग्री आउन नसकेको व्यापारीहरुको भनाइ छ ।

निषेधाज्ञा अघि प्रतिकेजी ५० देखि ५५ रुपैयाँ पर्ने चामल अहिले बजारमा ६० रुपैयाँमा पुगेको छ । त्यस्तै ५०–६० रुपैयाँ पर्ने टमाटर प्रतिकेजी ८० रुपैयाँमा बिक्री भइरहेको छ । अन्य खाद्य तथा तरकारी सामग्रीमा पनि समानुपातिकरुपमा मूल्यवृद्धि भएको छ । दैनिक उपभोग्य वस्तु महँगो भएपछि खरिद गरेर खान नसकिने अवस्था आएको स्थानीय उपभोक्ता हिमलाल विकले बताए ।

यो महँगीमा कसरी परिवारलाई आवश्यक सामग्री जोहो गर्ने भन्ने समस्यामा परेको उनको भनाइ छ । निषेधाज्ञासँगै बजार खुल्ने यकिन नभएकाले उपभोक्ता महँगोमा सामान किन्न बाध्यता भएका छन् । बजार नियन्त्रण तथा उपभोक्ता सुरक्षामा सरोकार राख्ने निकायलाई मूल्यबृद्धिका कारण आमनागरिकले भोग्नु परेको समस्याप्रति गम्भीर बन्न राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशले आग्रह गरेको छ ।

मञ्चका कर्णाली प्रदेश सदस्य डिलबहादुर खत्रीले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने जोकोहीलाई नियमन गरी प्रचलित कानून अनुसार कारवाही गर्न माग गरे । अहिलेको असहज परिस्थितिको फाईदा उठाउँदै बिचौलिया सक्रिय देखिएकाले बजार अनुगमन गरी नियमन गर्न सरोकारवालालाई उनले सुझाव दिए ।

केही ठूला व्यापारीले यातायातमा समस्या आएको बहाना देखाएर कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरिरहेको गुनासो आईरहेको उनको भनाइ छ । उनले ठूला व्यापारीमा मौका छोप्ने पुरानै प्रवृत्ति रहेकाले यस्तो अवस्थाको फाइदा उठाउन नदिन स्थानीय प्रशासनसँग आग्रह गरे ।

उसोपनि चार्डवार्डका बेला दैनिक उपभोग्य सामानको माग बढी हुने हुँदा कृक्रिम अभाव सृजना गरी व्यापारीले महँगोमा वस्तु विक्री वितरण गर्ने चलन हटाईनु पर्ने उनको माग छ ।

Translate »