संवैधानिक दायरा भित्रबाटै समस्याको समाधान खोज्न एमाले सुर्खेतको आग्रह


सुर्खेत । नेकपा एमाले सुर्खेतले वर्तमान राजनीतिक संकटको निकास संविधानिक दायरा भित्रबाटै समस्याको समाधान खोज्न आग्रह गरेको छ ।
पार्टीका सुर्खेत अध्यक्ष कुलमणि देवकोटाले प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक संकटको निकास संविधानसम्मत विधि, लोकतान्त्रिक मुल्यमान्यता र अग्रगामी रुपान्तरणको जगमा हुनु पर्ने बताएका छन् । लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य–मान्यता, सामाजिक न्याय, विधिको शासन र रुपान्तरणकारी आन्दोलनप्रति अविचलित रहन आम जनसमुदायसँग एमाले सुर्खेतले अपिल गरेको छ ।

एमाले सुर्खेतले जेनजीको आन्दोलनबाट विकसित पछिल्ला राजनीतिक घटनाक्रम प्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । ‘आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ प्रेस विज्ञेप्तिमा भनिएको छ ।
सार्वजनिक सम्पत्ति, ऐतिहासिक स्थल, राजनीतिक दलका कार्यालय, र विभिन्न व्यक्तिका निजी सम्पत्ति, वित्तिय संस्था, उद्योग, धन्दा, कलकारखाना, सवारी साधनहरुमा भएको आगजनी, तोडफोड, लुटपाट र हिंसाका घटनाहरुप्रति एमाले सुर्खेतले निन्दा गरेको छ । उसले भविष्यमा यस्ता दुःखद घटना नदोहोरिने स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषी माथि कडा कानूनी कारवाहीसहित उचित क्षतिपूर्ति सुनिश्चित गर्न राज्यसँग माग गरेको छ ।

