नेपालगन्ज भन्सारद्वारा आयात–निर्यात सेवा सुचारु


बाँके । नेपालगन्ज भन्सारले आजदेखि सबै किसिमको आयात–निर्यात सेवा सुचारु गरेको छ। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जमुनाह नाकास्थित पुरानो भवनमा भएको आगजनी र लुटपाटपछि असुरक्षाको कारणले व्यापारीहरूले आयात–निर्यात कार्य रोकिरहेका थिए ।
करिब दुई दिनदेखि जाँचपास भइसकेका पेट्रोलियम पदार्थका गाडीहरू नेपाल भित्रिन नसके पनि शुक्रबारदेखि पेट्रोलियम पदार्थ आयात खुलेको भन्सार प्रमुख जनार्दन पौडेलले जानकारी दिए। ‘भारतबाट आएका गाडीहरूको नयाँ प्रज्ञापन भर्ने काम आजबाटै सुरु भइहाल्छ,’ पौडेलले बताए। उनका अनुसार आजदेखि अन्य मालवस्तुको आयात–निर्यात पनि खुल्नेछ।
भन्सारका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार नेपालगन्ज भन्सारले सामान्य अवस्थामा दैनिक पाँचदेखि ६ करोड रुपैयाँसम्म राजस्व सङ्कलन गर्दै आएको छ। उनले शनिबार मात्रै २३ बुलेट पेट्रोल नेपाल भित्रिएको र अब व्यापारिक सामानहरू पनि आउन थाल्ने बताए ।

तर, भन्सारको यात्रु शाखा, अस्थायी पैठारी सवारीसाधन भन्सार कक्ष र मुद्दा शाखामा भएको आगजनी र लुटपाटले ठूलो क्षति पुगेको छ। मुद्दा शाखाका सम्पूर्ण फाइल रेकर्ड जलेका छन् भने करिब दुई सयभन्दा बढी लिलामी र मुद्दाका लागि राखिएका सवारीसाधन लुटिएका भन्सार प्रमुख पौडेलले जानकारी दिए। कम्प्युटर, प्रिन्टर, ल्यापटप, फर्निचर तथा कर्मचारी आवासमा रहेका निजी सामानहरू समेत लुटपाट र आगजनीको सिकार बनेका छन्।
‘सबैभन्दा पहिले विद्युत् आपूर्ति र सिसिटिभीमा हमला गरिएको थियो। आपराधिक समूह नै लुटपाट र आगजनीमा संलग्न भएको देखिन्छ,’ पौडेलले बताए। भन्सार कार्यालयले चोरी गरिएका सामान फिर्ता गर्न आग्रह गर्दै नगरे कानुनी कारबाहीमा लैजाने चेतावनी दिएको छ।
यसैबीच, भन्सारका लेखापाल महेन्द्र आचार्यको परिवारसमेत भएको आवास भवनपनि आगजनीको सिकार बनेको छ। उनीहरूको घरायसी सामान, नागरिकता र शैक्षिक प्रमाणपत्रसहितका कागजात जलेर नष्ट भएका छन्। ‘मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति भएको छ,’ आचार्यले बताए ।
अहिले मुख्य आइसिपीमार्फत भन्सारको काम सुचारु भएको छ भने क्षतिग्रस्त शाखा कार्यालय चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको भन्सारले जनाएको छ।

