कर्णालीका पाँच जिल्लामा भारी हिमपात, हवाई सेवा अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न भेगमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि भइरहेको हिमपातका कारण डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।

प्रदेशका हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा हिमपात भइरहेको स्थानीयले बताएका छन् । हुम्ला सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ । हिमपातले हवाई सेवा अवरुद्ध हुनुका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन् । हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार हुम्लाका प्रायः सबै स्थानीय तहमा हिउँ परेको छ ।

उनले दुईदेखि तीन फिटसम्म हिउँ परेकाले यातायात, हवाई सेवा र बिजुली बन्द भएको बताए । यस्तै डोल्पामा हिउँ–पानी परिरहेको छ । हिमपातका कारण हिमाली जिल्लामा चिसोले जनजीवन प्रभावित हुनुका साथै जुम्ला सडक खण्ड बन्द भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताईन् ।

यता मुगुका अधिकांश लेकाली माथिल्लो क्षेत्र खमाले, जिउका, गम्था, सेरी लगायतका स्थानहरुमा हिमपातसमेत भइरहेको छ । हिउँ नपरेका स्थानमा लगातार पानी परिरहेको छ । हिउँ बाक्लो जमेपछि कर्णाली राजमार्ग हुँदै सिञ्जादेखि मुगु जोड्ने नाग्म–गमगढी सडक अवरुद्ध भएको छ ।

पहिलो पटक हिमपात हुँदा दुई दिनमा डोजर लगाएर खुलाइएको यो सडक दोस्रो पटकको हिमपातले पुनः अवरुद्ध भएको हो । हिउँले सडक अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् । अहिले मुगुदेखि जुम्ला, सुर्खेत र नेपालगन्ज जाने सवारीसाधन चल्न सकेका छैनन् । लामो समयपछि हिउँ परेकाले किसानहरु निकै उत्साहित भएका छन् । हिमाली क्षेत्रमा जमिनको सुख्खापन पनि हट्दै गएको किसानको भनाइ छ ।

Translate »