कर्णाली प्रदेशका ४ सय ४१ मतदान केन्द्र अति संवेदनशील

सुर्खेत । सुरक्षाका दृष्टिले कर्णाली प्रदेशका चार सय बढी मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ ।

फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश प्रहरी कार्यालयले कर्णालीका १० जिल्लामा ३ सय ५१ मतदानस्थलका ४ सय ४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको हो । प्रदेशका १ हजार ४ सय ३७ मतदान केन्द्र मध्ये ३ सय १ सामान्य र ६ सय ५१ संवेदनशील सूचीमा राखिएको छ ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (प्रहरी वरिष्ठ उपरीक्षक) रामप्रकाश शाहका अनुसार निर्वाचनमा प्रदेशभर १४ हजार ७ सय १९ जना प्रहरी परिचालन गर्ने तयारी भइरहेको छ । उनले दुर्गम तथा हिमाली जिल्ला मात्र नभएर प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्रमा समेत चुनौती नै हुने गरेकाले आवश्यकता अनुसार सुरक्षाकर्मी थपघट हुने बताए ।

यसपटक सबै मतदानस्थल सरकारी कार्यालयमा राख्ने तयारी भईरहेको बताउँदै उनले मतदान केन्द्रमा सिसिटिभी समेत राख्ने योजना रहेको जानकारी दिए । उनका अनुसार कर्णालीका कतिपय स्थानमा सडकको अवस्था राम्रो नहुँदा निर्वाचन गराउन र मतपेटिका ल्याउन÷लैजान हुन सक्ने समस्यालाई समेत मध्यनजर गरी तयारी भइरहेको छ ।

मतदानस्थल र केन्द्रको भित्री घेरामा निर्वाचन प्रहरी र नेपाल प्रहरी हुनेछन् भने, त्यसबाहिरको सुरक्षा सशस्त्र प्रहरी बलले र त्यसभन्दा पनि बाहिर नेपाली सेनाको सुरक्षा रहनेछ । पर्याप्तमात्रामा सादा पोशाकका प्रहरी पनि खटिने सूचना अधिकारी शाहले बताए ।

उनका अनुसार सम्वेदनशील ठाउँहरुमा सशस्त्र प्रहरी बल तयारी अवस्थामा रहनेछ भने अन्यत्र भने सेना तथा सशस्त्र प्रहरी बलको टोलीले बाहिरबाट बेलाबेलामा अवस्था हेरेर सुरक्षा अवस्थाको जानकारी लिनेछ ।

Translate »