लोकतान्त्रिक अधिकारको बीउ सहिदले नै रोपेका हुन् : अध्यक्ष ओली


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बीउ १९९७ सालका सहिदहरुले रोपेको बताएका छन् ।
सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ सहिदहरुले रोपेको उल्लेख गरे ।

अध्यक्ष ओलीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई राणा शासनले मृत्यु दण्ड दिएको स्मरण गर्दै त्यस्तो शासनको अन्त्य गर्न कम्युनिष्ट र कांग्रेसको सहकार्यले महत्त्वपूर्ण योगदान गरेको बताए ।
‘निरङ्कुश जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ कम्युनिष्ट र कांग्रेसको संयुक्त आन्दोलनको उपज हो । आज समाजले पाएको लोकतान्त्रिक अधिकार सहिदहरुको बलिदानले रोपेको हो,’ सामाजिक सञ्जालमार्फत उनले भने ।
अध्यक्ष ओलीले सहिदको बलिदानीलाई कहिल्यै नभुल्ने र राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सदा अडिग हुने प्रतिबद्धता जनाए ।

