‘राष्ट्रिय उत्पादकत्व वृद्धि गर्ने जनशक्ति विद्यालय तहबाटै तयारी गरिनु पर्छ’

सुर्खेत । प्राविधिक तथा व्यवसायिक सीपयुक्त जनशक्ति उत्पादन गरी श्रम बजारमा सहज प्रवेश गराउन सुर्खेतको वीरेन्द्रनगरमा छलफल शुरु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले क्वालिटी परियोजनाको सहयोगमा आईतबार वीरेन्द्रनरमा आयोजना गरेको ‘ओजीटी योजना निर्माण सम्बन्धि अभिमुखिकरण’ कार्यक्रममा प्राविधिक तथा व्यावसायिक शिक्षालाई गुणात्मकता वृद्धि गर्दै श्रम बजारको मागमा आधारित बनाउन जोड दिईएको हो ।

छलफलमा शैक्षिक उत्पादनको गुणात्मकता वृद्धिका लागि विभिन्न निकायहरुको भूमिका र जिम्मेवारी तय गरी व्यावहारिक अभ्याससहितको कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिईएको छ । तरकारी, फलफूल तथा पशुपालन जस्ता मिश्रित क्षेत्रमा आधुनिक तथा स्थानीय कृषि प्रविधिको प्रयोगमा जोड दिन कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको क्वालिटी परियोजनाका प्राविधिक संयोजक यामबहादुर बस्नेतले सुझाव दिए ।

उनले विद्यार्थीलाई व्यावहारिक कृषि सीप प्रदान गरी समयानुकूल प्रभावकारी एवं गुणस्तरीय बनाउन आवश्यक रहेकोे बताए । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) कर्णाली प्रदेशका क्वालिटी फोकल पर्सन ध्रुर्वप्रसाद रेग्मीले  जीवनोपयोगी रोजगारीमुलक सीपयुक्त शिक्षालाई सहजरुपमा भरपदो पहुँचको आधार बनाउनुपर्नेमा जोड दिए ।

सामाजिक विकास मन्त्रालयका अधिकृत बलवीर सुनारले राष्ट्रिय उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने सीपयुक्त जनशक्ति विद्यालय तहबाटै तयारी गर्न आवश्यक रहेको औल्याए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश सदस्य पूर्णदेव अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका कार्यकारी निर्देशक महेशकेशर खनाल, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अन्तर्गतको सीप विकास ईकाइका कार्यक्रम संयोजक हृदेश केसीसँगै कर्णाली प्रदेश भरी सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

Translate »