पिस एण्ड युनिटी रन प्रतियोगितामा सुर्खेतकी बिमला र डोल्पाका अर्जुन प्रथम भए

सुर्खेत । नेपाल सेनाले सुर्खेतमा आयोजना गरेको ‘पिस एण्ड युनिटी रन’ प्रतियोगिताको खुला दौड (१० किलोमिटर) मा सुर्खेतकी बिमला कार्की र डोल्पाका अर्जुन बुढा प्रथम भएका छन् ।

सेनाको उत्तरपश्चिम पृतनाद्वारा शनिबार वीरेन्द्रनगरमा आयोजिता उक्त दौड प्रतियोगितामा महिलातर्फ बिमलाले ४१ मिनेट तीन सेकेन्ड र खुला पुरुषतर्फ अर्जुनले ३१ मिनेट १७ सेकेन्डमा दुरी पूरा गरेका हुन् ।

यस्तै, द्वितीय स्थानमा पुरुषतर्फ आशिष गुरुङ र महिला तर्फ गीता खड्का रहेका छन् । तृतीय स्थानमा पुरुषतर्फ मुकेश शाही र महिलातर्फ करुणा ऐडीले प्राप्त गरेका हुन् । त्यस्तै ५ किलोमिटरको दुरी २३ मिनेट ३ सेकेण्डमा पूरा गरी छात्रातर्फ चन्द्रा बुढाले प्रथम स्थान हात पारिन् ।

द्वितीय स्थानमा संस्कृति सापकोटा र तृतीय स्थानमा दीपा कठायतले प्राप्त गरिन् । १० किलोमिटर दौडमा महिला खुला र पुरुष खुलातर्फ प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पाएका हुन् । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, उत्तरपश्चिम पृतनापति दिपेशजंग शाह र सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले प्रतियोगिताका विजयी प्रतियोगीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

उत्तर पश्चिम पृतनाले महाशिवरात्री तथा सेना स्थापनाको अवसर पारेर राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न भन्दै हरेक वर्ष दौड प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ ।

Translate »