पूर्वप्रधानमन्त्री ओलि र पूर्व गृहमन्त्री लेखक पक्राउ, पक्राउको विरोधमा एमाले सडकमा उत्रिँदै


काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक प्रक्राउ परेका छन् । शनिवार विहान ओलीलाई उनको भक्तपुरको गुन्डुस्थित निवासबाट र लेखकलाई पनि उनको भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष्टि गरेको हो ।
गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान जाने गरि घटेको घटानामा संलग्न भएको आरोपको अनुसन्धानका लागि प्रहरीले ओली र लेखकलाई प्रक्राउ गरिएको जानकारी दिएको छ । नेपालको इतिहासमा पहिलो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी पुरा गरिसकेका व्यक्तिहरुलाई ज्यान मारेको अभियोगमा पक्राउ गरिएको हो ।
शुक्रवार बालेन शाह नेतृत्वको नयाँ सरकार बनेसँगै बसेको मन्त्रिपरिषदको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । गृहमन्त्री सुधन गुरुङले शुक्रवार लामो समय सुरक्षा निकायका प्रमुखहरुसँग छलफल समेत गरेका थिए । गृहमन्त्रीकै निर्देशनमा ओली र लेखकलाई प्रक्राउ गरि प्रहरी परिसर भद्रकाली लगिएको छ ।
आज शनिवार सार्वजनिक विदा परेकाले उनीहरुलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराउन सम्भव नभएकाले दुबै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिने जानकारी प्रहरी परिसरले गराएको छ । दुबै जना प्रक्राउपछिको अवस्थालाई ध्यानमा राखी उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाईएको समेत परिसरले प्रष्ट पारेको छ ।

ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रिँदै
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले प्रदर्शनमा उत्रिने भएको छ । सचिव महेश बस्नेतका अनुसार एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा प्रदर्शन गर्न लागिएको हो ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं,’ बस्नेतले लेखेका छन्, ‘कार्यक्रमबारे विस्तृत जानकारी केही समयमा दिइनेछ ।’
जेनजी आन्दोलनमा दमन गरेको भन्दै पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । पक्राउ गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको बस्नेतको भनाइ छ । ‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ,’ सचिव बस्नेतले लेखेका छन् ।
बस्नेतले जेनजी आन्दोलनका क्रममा निरिह देखिएको नेपाल प्रहरीप्रति पनि टिप्पणी गरेका छन् । ‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ,’ उनले लेखेका छन् ।

