निर्माणाधीन प्रदेश रङ्गशालाको काम छिटो टुंग्याउन मुख्यमन्त्री कँडेलको निर्देशन


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम छिटो टुंग्याएर दशौं राष्ट्रिय खेलकुदको तयारीमा लाग्न निर्देशन दिएका छन् ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले बजेट विनियोजन भईरहेकाले रंगशाला निर्माणको बाँकी काम तोकिएकै समयमा सम्पन्न गर्न निर्माण पक्ष सरोकारवालालाई निर्देशन दिएका हुन् । उनले कार्यतालिका अनुसार काम अघि बढाउन र बाँकी रहेका कामहरु निश्चित समयसीमाभित्र पूरा गर्ने काममा अब ढिलाई नगर्न समेत आग्रह गरे ।

निर्माण कार्यको प्रभावकारी अनुगमन र समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले जिम्मेवार निकायहरुलाई आफ्नो भूमिकामा गम्भीर हुन सचेत गराए । मुख्यमन्त्री कँडेले कर्णालीमा खेलकुद क्षेत्रको सम्भावना प्रशस्त रहेको भन्दै खेलाडीहरुको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षणको व्यवस्था, आवश्यक पूर्वाधार निर्माण तथा प्रतियोगिताहरुको निरन्तर आयोजनामा ध्यान दिनुपर्ने औल्याए ।
आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आवश्यक तयारीमा जुट्न निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न पूर्वाधार, खेलमैदान, आवास तथा व्यवस्थापनका पक्षहरु समयमै सुनिश्चित गर्नुपर्नेमा जोड दिए । हाल बजेट तयारीको चरणमा रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रका योजनाहरु योजना बैंकमा समावेश गर्न उनले सुझाव दिए ।
बैठकमा परिषद्का पदाधिकारीहरुले निर्माणाधीन रङ्गशालाको वर्तमान प्रगति, देखिएका चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । कार्यक्रमका सहभागीहरुले समन्वय, स्रोत व्यवस्थापन र प्रभावकारी अनुगमनमार्फत निर्माण कार्यलाई गति दिन सकिने धारणा व्यक्त गरे ।

