भट्टराई कुलवंशद्वारा शुभकामना आदान प्रदानसँगै भित्ते पात्रो विमोचन


वीरेन्द्रनगर । भट्टराई कुलवंश प्रतिष्ठान कर्णालीले नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान तथा २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ ।
आइतबार वीरेन्द्रनगरमा केन्द्रीय उपाध्यक्ष यज्ञप्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा प्रदेश अध्यक्ष कांशीराम भट्टराईको अध्यक्षतामा कर्णालीका सचिव शोम भट्टराइले सञ्चालन गरेको कार्यक्रममा वशिष्ठ ऋषीको सम्झना गर्दै शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन गरिएको हो ।
शुभकामना आदान प्रदान कार्यक्रममा भट्टराई परिवारको कुल पुजा तथा वंशाबलीमा नाम छुट भएको परिवारको लगत संकलन गरी आगामी प्रकाशनमा समावेश हुने गरी केन्द्रमा पठाउन पहल भइरहेको प्रतिष्ठान कर्णालीका अध्यक्ष कांशीराम भट्टराईले जनाए । कर्णाली प्रदेश अध्यक्ष कांशीरामले नयाँ वर्ष २०८३ सालले भाईभाईमा एकताबद्ध हुँदै समाजमा उदारणीय परिवार बन्न जरूरी रहेको बताए ।

उनले आफ्नै घरभित्रबाटै आफ्ना सन्ततिहरुलाई कुल देवता, वशिष्ठ ऋषी, कुल पूजाका विधि तथा धामी धनन्तरीका वारेका जानकारी गराउँदै सकरात्मक सोचको विकास गराउन आवश्यक रहेको औल्याए ।
उनले कर्णाली प्रदेश भित्र मुगु र डोल्पा जिल्ला वाहेक आठ जिल्लमा भट्टराई परिवारको बसोबास रहेको र रुकुम पश्चिम बाहेक का सात जिल्लामा जिल्ला समितिहरु गठन भइ क्रियाशील रहेको र कालिकोट रुकुमपश्चिम र मुगुका भट्टराई परिवारको वंशावली जोडिन बाँकी रहेकोमा कालिकोट, दैलेख र सुर्खेतका केही परिवारको नामावली संकलन भई नम्बर कायमका लागि केन्द्रमा पठाइएको जानकारी गराएका थिए ।


प्रमुख अतिथि यज्ञ प्रसाद भट्टराईले भट्टराई परिवारको इतिहास हेर्दै जाँदा जुम्लाको सिजा क्षेत्रमा भट्टराईहरुको बसोवास रहेको तथ्य प्रमाण शिलालेख, ताम्रापत्र, भोजपत्रमा उल्लेख भए अनुसार १३२० भन्दा पहिलादेखि नै रहेको जनाए । उनले वंशावली प्रकाशनका क्रममा राजपरिवार पछि २०२४ सालदेखि नेपालमा भट्टराई वंशावली प्रकाशनको प्रयाससंगै २०४९ सालमा प्रथम वंशावली प्रकाशन भएको बताए ।
प्रतिष्ठानका सल्लाहकार शिवप्रसाद (उपाध्याय) भट्टराईले परिवारको इतिहास कुल पुजा र कुलवंशका वारेका एकरुपता कायम गरी सामाजिक क्षेत्रमा उदारणिय कार्य गर्न आवश्यक रहेको औल्याए । उनले भट्टराई परिवारबाट सबैले अनुसरण गर्न सक्ने ब्यवहार र कार्यको अपेक्षा गरिएको र यस परिवारमा रहेका उच्च शिक्षा हाँसिल गरेका सन्तानहरुको अभिलेख समेत संकलन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा केन्द्रीप सदस्य प्रेमप्रसाद भट्टराई, सुर्खेत जिल्ला अध्यक्ष खगेन्द्रप्रसाद भट्टराईलगायत सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, मुगु र सल्यान जिल्लामा बसोबास गर्ने भट्टराईहरुको उपस्थित रहेको थियो ।



