महिलाको आर्थिक सशक्तिकरणमा ‘ईडब्लुपीएन’ का कार्यक्रम प्रभावकारी बन्दै


दैलेख । श्रमिक महिलाको आर्थिक सशक्तिकरणमा ‘सशक्त महिला, समृद्ध नेपाल’ (ईडब्लुपीएन) का कार्यक्रम प्रभावकारी बन्दै गईरहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश, दैलेख उद्योग वाणिज्य संघ, नारायण नगरपालिका दैलेख र ईडब्लुपीएनको संयुक्त आयोजनामा विहीबार दैलेखमा आयोजित कार्यक्रमका सहभागिहरुले महिलाको आर्थिक सशक्तिकरणमा ‘सशक्त महिला, समृद्ध नेपाल’ (ईडब्लुपीएन) को भूमिका प्रभावकारी बन्दै गईरहेको बताएका हुन् ।
कार्यक्रममा नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले नेपाल उद्योग वाणिज्य महासंघ र ईडब्लुपीएनका कार्यक्रममार्फत महिलाको आर्थिक सशक्तिकरणका क्षेत्रमा गरेका कार्यहरुको प्रशंसा गरे । उनले महिलाको आर्थिक सशक्तिकरणका क्षेत्रमा गरेका गरिएका कार्यहरुले स्थानीय तहमा समेत सकारात्मक परिवर्तन ल्याएको जानकारी दिए ।
महिलाको आर्थिक सशक्तिकरणका लागि आगामी दिनमा समेत नगरपालिका र महासंघ बीचको सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउन नगरपालिका समेत प्रतिबद्ध रहेको उनको भनाइ छ । त्यस्तै नगर उपप्रमुख तप्ता थापाले स्थानीय सरकारले समेत आर्थिक रुपमा आत्मनिर्भर बनाउन महिला लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताईन् ।

उनले ईडब्लुपीएन कार्यक्रमसँग सहकार्य गर्दै महिलाको सीप विकास, उद्यम प्रवद्र्धन र आयआर्जनका अवसर विस्तारमा नगरपालिका प्रतिबद्ध रहेको धारणा व्यक्त गरिन् । कार्यक्रममा दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाले अध्यक्ष नरेन्द्र थापाले ‘सशक्त महिला, समृद्ध नेपाल’ (ईडब्लुपीएन) ले सञ्चालन गरेका गतिविधिहरुले महिलाको आर्थिक सशक्तिकरणमा महत्वपूर्ण बन्दै गईरहेको बताए ।
उनले स्थानीय तहसँगको सहकार्यमा ईडब्लुपीएनका कार्यक्रममा थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले ईडब्लुपीएन कार्यक्रमले स्थानीय स्तरमा महिला उद्यमशीलता विकास, सीप अभिवृद्धि तथा रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पारेको जनाए ।
स्थानीय आवश्यकतासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिँदै उनले दिगो र परिणाममुखी बनाउन सबै सरोकारवालाबीच समन्वय तथा सहकार्य आवश्यक रहेको औल्याए । त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका कार्यकारी निर्देशक महेशकेशर खनालले कर्णाली प्रदेशमा महिलाको आर्थिक पहुँच विस्तारका लागि ईडब्लुपीएनका कार्यक्रमहरु महत्वपूर्ण बन्दै गईरहेको जनाए ।
उनले निजी क्षेत्र, स्थानीय सरकार र विकास साझेदारबीच सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । ईडब्लुपीएन कार्यक्रममार्फत सिर्जना भएका अवसरहरुलाई दीर्घकालीन उपलब्धिका रुपमा रुपान्तरण गर्न संस्थागत समन्वय आवश्यक रहेको औल्याए । यस्तै नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका सहायक अधिकृत तथा ईडब्लुपीएनका प्रदेश संयोजक लोकराज लामिछानेले कार्यक्रमको उद्देश्य, हालसम्म भएका उपलब्धि तथा आगामी कार्ययोजनाबारेमा प्रस्तुति गरेका थिए ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यक्रम परामर्शदाता संयुक्ता भण्डारी, सामाजिक शाखा प्रमुख खमबहादुर थापालगायतका सहभागिहरुले कार्यक्रमको प्रभावकारिता, चुनौती र सम्भावनाका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

