सुर्खेतमा सडक सुरक्षाका लागि प्रदेशस्तरीय कार्यशाला


सुर्खेत । सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित सडक पूर्वाधार निर्माण गर्ने उद्देश्यका सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरीय सडक सुरक्षा सम्बन्धि कार्यशाला गोष्ठी’ शुरु भएको छ ।
कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यशाला आयोजना गरेको हो । उक्त कार्यशालामा सडक पूर्वाधारको सुरक्षा र ट्राफिक व्यवस्थापनबारे छलफल भएको छ ।


भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले कार्यशालाको उद्घाटन गर्दै सडक सुरक्षा केवल ट्राफिक प्रहरीको मात्र नभई इन्जिनियरिङ र जनचेतनासँग जोडिएको साझा जिम्मेवारी भएको बताए । उनले अबका सडक योजनाहरु सुरक्षा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
कार्यशालामा सडक विभाग र मन्त्रालयका इन्जिनियरहरु र ट्राफिक प्रहरीले सडकको अवस्था र दुर्घटना न्यूनीकरणका उपायबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
सडकको प्राविधिक डिजाइन, ट्राफिक नियमको पालना र जोखिमपूर्ण ‘ब्ल्याक स्पट’ पहिचान गरी सुधार गर्ने विषयमा विज्ञबीच विस्तृत छलफल भएको छ । कार्यक्रममा मन्त्रालयका सचिव, ट्राफिक प्रहरी प्रमुख र इन्जिनियरहरुको सहभागिता रहेको थियो ।


